शिव-भजन (कविता) – शब्द लहर, अँक ४४ – प्रविण टण्डन

             

 

 

 

 

 

 शिव-भजन

 

न जान्दछु म को हुँ; न ज्ञान किन जन्म भो’

तिम्रै शरणमा यो भक्त, शिर झुकाउँछ शम्भो   

 

विश्व-ब्रम्हाण्ड नायक, हे सृष्टिका अधिपति

गाएर कैलै’ नसकिने, महिमा छ जसको अति

प्रभु-चरणमा अर्पित, प्रभुकै जीवन यो

तिम्रै शरणमा यो भक्त, शिर झुकाउँछ शम्भो 

 

क्षणभगुँर छ सँसार तर, अनित्यताको स्वाँग गरी

विचित्र जाल मायाको, फसाउँछ घरी-घरी

प्रभुकृपाबिना मुक्ति पाउन, मुश्किल झन् भो’

तिम्रै शरणमा यो भक्त, शिर झुकाउँछ शम्भो 

 

चारैदिनको चोला नश्वर, हुन्छ खरानी जानी-जानी

काम-क्रोध-लोभ-मोहमा फस्छ, अल्पज्ञानी मन अभिमानी

शक्ति मिलोस् सत्मार्गमा, अविचलित होस् कदम यो

तिम्रै शरणमा यो भक्त, शिर झुकाउँछ शम्भो 

 

विकार विचारका नाश होऊन्, चित्त रहोस् ईश-चिन्तन

लोककल्याणमा कर लागुन्, वचन बनोस् प्रभु-कीर्तन

यति अनुग्रह मिले ईश्वर, मानव-जुनी उत्तम भो’

तिम्रै शरणमा यो भक्त, शिर झुकाउँछ शम्भो 

तिम्रै शरणमा यो भक्त, शिर झुकाउँछ शम्भो …

************************************************

 

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

 

 

सम्बन्धित शिर्षकहरु