कविता
हरेक बिहानीमा जसै, रात हटे जस्तो लाग्छ,
तिम्रो-मेरो पर्खाइको, दिन घटे जस्तो लाग्छ
कति छिटो बितिजान्छ, समयको गति हेर
मौनताले तिम्रो यहाँ, गराएको खती हेर
जिन्दगीमा एक्लै अर्को, घुम्ती कटे जस्तो लाग्छ
तिम्रो-मेरो पर्खाइको, दिन घटे जस्तो लाग्छ
बिर्सिन त गार्हो थे’न, सम्झना त्यो नआइदिए
मन किन अतालिन्थ्यो, न्याउलीले नगाइदिए
तिम्रो त्यहीं मुस्कानमा, स्वर्ग अटे जस्तो लाग्छ
तिम्रो-मेरो पर्खाइको, दिन घटे जस्तो लाग्छ
रुन्छन् किन अरु भन्थें’, बिछोडको पीरले रै’छ
मुटु व्याकुल बनाउने, बैगुनी तस्वीरले रै’छ
बाडुल्कीले सताउँदा, तिमी छट्पटे’ जस्तो लाग्छ
तिम्रो-मेरो पर्खाइको, दिन घटे जस्तो लाग्छ
नपठाउनु चिठ्ठी अब, ती त शब्द मात्र रै’छन्
एकैछिन भुलाउने, ईन्द्रजाले पात्र रै’छन्
कसो गरौं हँस मेरो, तिमीमै सटे जस्तो लाग्छ
तिम्रो-मेरो पर्खाइको, दिन घटे जस्तो लाग्छ
तिम्रो-मेरो पर्खाइको, दिन घटे जस्तो लाग्छ …
*******************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com