कविता
भेटघाट हुन्छन् धेरै, कमै भेटें यिनीजस्ती
लाग्यो कतै छुट्टिएकी, आफ्नै प्यारी बहिनीजस्ती
कि त पै’लै भेटिएकी, ऊ जन्मकी साथी हो कि
केही कुरा मेटिएका, धेरै अझै थाती ‘थ्यो कि
कि म बीचमै छुट्नुपर्यो, कि ऊ रूँदै हिंनीजस्ती
लाग्यो कतै छुट्टिएकी, आफ्नै प्यारी बहिनीजस्ती
चिनाजान सँगसँगै, कुरा झनै खुल्दै गए
अपरिचित थिए मन, तर शःनै भुल्दै गए
त्यसै मन किन मान्थ्यो, नभेटे भगिनीजस्ती
लाग्यो कतै छुट्टिएकी, आफ्नै प्यारी बहिनीजस्ती
सँघर्षको कथा ठूलो, जीवनमा रँग रै’छ
छल-कपटदेखि टाढा, मन कन्चन गँगा रै’छ
मिथ्या न त आफू बोल्ने, न त मनमा लिनीजस्ती
लाग्यो कतै छुट्टिएकी, आफ्नै प्यारी बहिनीजस्ती
मौलाई अब झाँगिनेछ, नाता अहिले विरूवा त हो
यात्रा लामो गर्न बाँकी, यो त भर्खर शुरूवात हो
सृष्टिकी उपहार यस्ती, भेटिन्न कहींनीजस्ती
लाग्यो कतै छुट्टिएकी, आफ्नै प्यारी बहिनीजस्ती
लाग्यो कतै छुट्टिएकी, आफ्नै प्यारी बहिनीजस्ती …
********************************************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com