
गीत
जतिबेला तिम्रा, आँखाबाट पर हुन्छु
नसुर्ताउनु म त तिम्रै, वरपर हुन्छु
सम्झेर ‘नि मनको तृष्णा, मेटाउन सक्छौ
हर स्वासमा तिमीले मलाई, भेटाउन सक्छौ
तिमी हुनु पीपलु रूख, म त बर हुन्छु
नसुर्ताउनु म त तिम्रै, वरपर हुन्छु
सपनीमा तिमीबाट, अँगालिंदाखेरि
झस्किएर विपनीमा, सम्हालिंदाखेरि
यादमा तिम्रै हराएको, आठै प्रहर हुन्छु
नसुर्ताउनु म त तिम्रै, वरपर हुन्छु
एक्लोपनले एक्लो मनलाई, दु:खी पारीराख्छ
सम्झनाले सम्बन्धलाई, सँधै जारी राख्छ
पर्खिएको तिमीलाई, कल्पनाको शहर हुन्छु
नसुर्ताउनु म त तिम्रै, वरपर हुन्छु
पूरा कहाँ हुन्छ सारा, जिन्दगीका इच्छा
पूरा हुँदा जिन्दगीले, दिन्छ यहीं शिक्षा
फैल तिमी सागर झैं, म त लहर हुन्छु
नसुर्ताउनु म त तिम्रै, वरपर हुन्छु
नसुर्ताउनु म त तिम्रै, वरपर हुन्छु …
********************************************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com



