
कविता
जब तिम्रै कुरा सुनी, पछि-पछि लाएँ
सँसारैका दु:ख, घर बसी-बसी पाएँ
घुम-घाम गर्न अब, टाढा किन जानु
भित्रै घाम लाग्न थाल्छ, भत्किए’सी छानु
ला’थ्यो मलाई बलियैसित, आफ्नो घर छाएँ
सँसारैका दु:ख, घर बसी-बसी पाएँ
सजिलो पो हुँदोरै’छ, ज्यानले मुक्ति पाउन
लागेपछि निठुरीलाई, चोखो माया लाउन
त्यसकै लागि बोलाउँदा, दौडिएर आएँ
सँसारैका दु:ख, घर बसी-बसी पाएँ
साथ तिम्रो खेत फाँडी, झाडी फुलेजस्तो
प्यास लाग्दा घरभित्रै, बाढी हुलेजस्तो
पहिले कुरा नबुझ्दा पो, दश-तिर धाएँ
सँसारैका दु:ख, घर बसी-बसी पाएँ
भनेकै थे’ मनिसले, तिम्रो भर हुन्न
सानो रिन थ्यो’ पिरतीको, थपिदियौ सुन्ना
ब्याज त्यहीं तिर्दा-तिर्दा, खुशी जति भ्याएँ
सँसारैका दु:ख, घर बसी-बसी पाएँ
काटी प्वाँख भीरबाट, उडान गराइदियौ
भाग ला’ई सुख, दु:ख गुणान गराइदियौ
मुर्खले झैं मुखले तिम्रो, गुण-गान गाएँ
सँसारैका दु:ख, घर बसी-बसी पाएँ
सँसारैका दु:ख, घर बसी-बसी पाएँ …
********************************************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com





