सँसारैका दु:ख… (कविता) – शब्द लहर, अँक ४१ – प्रविण टण्डन

 

          

कविता

 

जब तिम्रै कुरा सुनी, पछि-पछि लाएँ

सँसारैका दु:ख, घर बसी-बसी पाएँ

 

घुम-घाम गर्न अब, टाढा किन जानु

भित्रै घाम लाग्न थाल्छ, भत्किए’सी छानु

 

ला’थ्यो मलाई बलियैसित, आफ्नो घर छाएँ

सँसारैका दु:ख, घर बसी-बसी पाएँ

 

सजिलो पो हुँदोरै’छ, ज्यानले मुक्ति पाउन

लागेपछि निठुरीलाई, चोखो माया लाउन

 

त्यसकै लागि बोलाउँदा, दौडिएर आएँ

सँसारैका दु:ख, घर बसी-बसी पाएँ

 

साथ तिम्रो खेत फाँडी, झाडी फुलेजस्तो

प्यास लाग्दा घरभित्रै, बाढी हुलेजस्तो

 

पहिले कुरा नबुझ्दा पो, दश-तिर धाएँ

सँसारैका दु:ख, घर बसी-बसी पाएँ

 

भनेकै थे’ मनिसले, तिम्रो भर हुन्न

सानो रिन थ्यो’ पिरतीको, थपिदियौ सुन्ना

 

ब्याज त्यहीं तिर्दा-तिर्दा, खुशी जति भ्याएँ

सँसारैका दु:ख, घर बसी-बसी पाएँ

 

काटी प्वाँख भीरबाट, उडान गराइदियौ

भाग ला’ई सुख, दु:ख गुणान गराइदियौ

 

मुर्खले झैं मुखले तिम्रो, गुण-गान गाएँ

सँसारैका दु:ख, घर बसी-बसी पाएँ

सँसारैका दु:ख, घर बसी-बसी पाएँ

********************************************************************

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

सम्बन्धित शिर्षकहरु