बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर फैलँदै

बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर फैलँदै

असनेपाल न्यूज | विशेष समाचार

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) का संस्थापक तथा आध्यात्मिक गुरु श्रद्धेय सद्गुरुदेव योगी आचार्य राजन शर्माद्वारा बेलायत र कतारमा सम्पन्न निःशुल्क योग, ध्यान तथा आध्यात्मिक जागरण कार्यक्रमहरूले नेपाली समुदायमा उल्लेखनीय उत्साह सिर्जना गरेका छन्। लन्डन, कोभेन्ट्री, रिडिङ तथा कतारको दोहामा आयोजित सप्त चक्र जागरण, कुण्डलिनी योग, आयुर्वेद, तनाव व्यवस्थापन तथा आत्मज्ञान शिविरमा सयौं नेपाली तथा विभिन्न समुदायका सहभागीहरूले लाभ लिएका छन्।

GSPSS बेलायतका संयोजक दयाराम गौतमका अनुसार यी कार्यक्रमहरूले केवल योग र ध्यानको अभ्यास मात्र नभई “विश्व गुरु देश नेपाल” को सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने महत्वपूर्ण भूमिका खेलेका छन्। उहाँका अनुसार बेलायतसँगै पोर्चुगल, नेदरल्याण्ड्स तथा अन्य युरोपेली देशहरूमा पनि नेपाली आध्यात्मिक ज्ञानप्रति नयाँ आकर्षण र जागरण देखिएको छ। यसै क्रममा बेलायतको रिडिङमा GSPSS को नयाँ शाखा विस्तार गरिएको छ, जसले आगामी दिनमा नियमित योग, ध्यान तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

यस ऐतिहासिक भ्रमणका क्रममा सापकोटा कल्याण केन्द्र, बेलायतको वार्षिक भेलामा योगी आचार्य राजन शर्मालाई मुख्य अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। कार्यक्रममा उहाँले सापकोटा वंशको इतिहास, कौण्डिन्य ऋषि परम्परा तथा सप्तऋषिहरूको योगदानबारे चर्चा गर्दै आफ्नो संस्कार, संस्कृति र आध्यात्मिक सम्पदाको संरक्षण गर्नु नै ऋषि परम्पराप्रतिको सच्चा सम्मान हुने धारणा व्यक्त गर्नुभयो। उहाँले आध्यात्मिक मूल्य र वैदिक ज्ञानको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

सापकोटा कल्याण केन्द्र, बेलायतका प्रमुख गोविन्द सापकोटाले योगी आचार्य राजन शर्माको यो अभियानलाई दिव्य कर्मको संज्ञा दिँदै भन्नुभयो, “यस अभियानले सनातन वैदिक धर्म, योग र अध्यात्मको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उचाल्ने कार्य गरेको छ। सापकोटा समुदायका सदस्यका रूपमा योगी आचार्य राजन शर्माले विश्वभर नेपाली आध्यात्मिक संस्कृति र ऋषि परम्पराको पहिचान स्थापित गर्नुभएको छ। उहाँको यो योगदान सम्पूर्ण सापकोटा समाजका लागि गर्वको विषय हो।”

उता, कतारको दोहामा सम्पन्न विश्व योग जागरण, सप्त चक्र साधना तथा गुरु पूर्णिमा विशेष कार्यक्रममा पनि उल्लेखनीय सहभागिता रहेको थियो। GSPSS कतारका संयोजक झपट बहादुर कुँवरका अनुसार निःशुल्क सञ्चालन गरिएका यी कार्यक्रमहरू विशेषगरी श्रमिक समुदायका लागि अत्यन्त लाभदायी बनेका छन्। उहाँले नियमित ध्यान, योग, आयुर्वेद तथा आध्यात्मिक साधनाबाट धेरै सहभागीहरूको मानसिक तनाव कम हुनुका साथै स्वास्थ्य, आत्मविश्वास र जीवनशैलीमा सकारात्मक परिवर्तन आएको अनुभव साझा गर्नुभयो। शुल्क तिर्न नसक्ने श्रमिकहरूलाई निःशुल्क ज्ञान प्रदान गरेर मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरिएको उहाँको भनाइ थियो।

कतारका साधक राजन भारद्वाजले योगी आचार्य राजन शर्माबाट प्राप्त ज्ञानले आफ्नो जीवनमा नयाँ उज्यालो ल्याएको बताउँदै भन्नुभयो, “आफ्नो व्यक्तिगत समय, श्रम र आर्थिक स्रोत खर्च गरेर पनि मानवताको सेवाका लागि निःस्वार्थ रूपमा ज्ञान बाँड्ने गुरु आजको समयमा दुर्लभ हुन्छन्। उहाँले कुनै स्वार्थ बिना हजारौँ मानिसको जीवनमा चेतना, आशा र प्रकाश ल्याउने कार्य गर्नुभएको छ, जुन साँच्चिकै अनुकरणीय र दुर्लभ आध्यात्मिक सेवा हो।”

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) ले विगत लामो समयदेखि विश्वभर निःशुल्क रूपमा योग, ध्यान, आयुर्वेद, आत्मज्ञान, संस्कृत तथा आध्यात्मिक विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाको “एक घर, एक योगी” अभियानमार्फत स्वस्थ, शान्त, सचेत र आध्यात्मिक समाज निर्माण गर्ने तथा “विश्व गुरु देश नेपाल” को गौरवपूर्ण सन्देशलाई विश्व समुदायमा स्थापित गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ।

बेलायत र कतारमा सम्पन्न यी सफल कार्यक्रमहरूले नेपाली आध्यात्मिक ज्ञान, सनातन संस्कृति तथा योग परम्पराप्रति अन्तर्राष्ट्रिय समुदायको आकर्षण बढाएको आयोजकहरूको विश्वास छ। साथै, आगामी दिनमा युरोप, मध्यपूर्व तथा अन्य मुलुकहरूमा पनि यस्ता निःशुल्क आध्यात्मिक जागरण अभियानलाई अझ व्यापक रूपमा विस्तार गर्ने तयारी भइरहेको GSPSS ले जनाएको छ।

— असनेपाल न्यूज

सम्बन्धित शिर्षकहरु