
गीत
छैन माया भने मायाले नहेरिदिएहुन्थ्यो
बिन्ती यहीं हजार रँग नफेरिदिएहुन्थ्यो
आफ्नै-जस्तो लाग्ने कहिले, कहिले नचिनेझैं
भत्किए’सी घरकै बाटो, हुन्छ नहिडेझैं
खोल्न गाह्रो पिरतीको गाँठो नबेरिदिएहुन्थ्यो
बिन्ती यहीं हजार रँग नफेरिदिएहुन्थ्यो
सुखसँग बसेको मुटु, दुखाउनुपर्ने के छ
खुल्ला पाना जस्तै जीवन, लुकाउनुपर्ने के छ
लेख्नु केही छैन भने व्यर्थै नकेरिदिएहुन्थ्यो
बिन्ती यहीं हजार रँग नफेरिदिएहुन्थ्यो
छोटो जीवन गर्नु धेरै सँकल्प ‘नि हुन्छ
हुन्छ हुन्न दुइटैको विकल्प ‘नि हुन्छ
माया लाउँछु भन्ने निर्दोष मन नसेरिदिएहुन्थ्यो
बिन्ती यहीं हजार रँग नफेरिदिएहुन्थ्यो
बिन्ती यहीं हजार रँग नफेरिदिएहुन्थ्यो …
********************************************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com



