‘गीत ‘ – प्रविण टण्डन “वसन्तप्रवीण”, शब्द लहर ~२

(त्यो भेट अप्रत्यासित थिएन, तर त्यसको प्रभाव साँच्चै अविस्मरणीय रहन पुग्यो । जीवनको यात्रामा धेरै थरीका मानिस भेटिए, कति अझै भेटिन्छन् । तर किन यस्तो लाग्यो म उनलाई बाहेक कसैलाई आफ्नो भन्न सक्ने छैन। न राम्रो चिनजान, न सँगत; पहिलो भेटमै यो मोहनी लगाउने उनीसम्म मेरो हृदयको यो भावलाई हाक्का-हाक्की भन्ने आँट आएको छैन; तर यो कुरा उनीसम्म पुर्‍याउनु नै छ … )

‘गीत ‘

लाग्छ डर मनको कुरा, खोल्न नसकिने भो’

एकदिनको भेट नै, भुल्न नसकिने भो’

 

नदेखेको कहाँ हो र, परीजस्ता पनि

भेटें कति घाम कति, झरीजस्ता पनि

अरूसँग अब कतै, मिल्न नसकिने भो’

एकदिनको भेट नै, भुल्न नसकिने भो’

 

बुध्दि भन्छ के भएर, उनलाई आफ्नो ठान्छस्

मुटु भन्छ उनी बाहेक, कसलाई आफ्नो मान्छस्

आफ्नै मनको अन्तरद्वन्द, झेल्न नसकिने भो’

एकदिनको भेट नै, भुल्न नसकिने भो’

 

यो मुटुको सन्देशलाई, कसको हात पठाउने हो

खामभित्र यति धेरै, माया कसरी अटाउने हो

गीत बोकी उड चरी, बोल्न नसकिने भो’

एकदिनको भेट नै, भुल्न नसकिने भो’ …

 

– प्रविण टण्डन “वसन्तप्रवीण”

सुझाव/प्रतिकृयाका लागि basantaprabin@gmail.com

सम्बन्धित शिर्षकहरु