‘मौका’ ~ कथा ~

‘मौका”- ~ कथा ~~शब्द लहर – अङ्क ८

ऊ, मेरो निकै मिल्ने साथी । तर किन हो त्यसदिन त्यति आत्मीय भेट हुन सकेन । केहीबेर हामी बाझ्यौं पनि । आखिरमा कहाँबाट शुरू भएको कुरा नसोचेको ठाउँमा पुगेर टुँगियो । हामी दुबैले शायद कोट्याउन नखोजेका कति कुरा पनि निस्किए, रीसको झोंकमा मैले के-के भनें, अनि सुनें पनि । कति एक-अर्काका बस्न लागेका मनका घाउका टाटा पनि उप्किए !

ऊ हिंडेको केही समयपछि बिस्तारै बल्ल ऊ गएको आभास पाएजस्तो लाग्यो । अझैपनि लाग्दैथियो, ‘के सँधै ऊ नै सही हुन्छ भन्ने छ र? आफ्नो त्यति पुरानो साथीको कुरा बुझ्नुपर्दैन उसले?’

एकछिनपछि फेरि घोत्लिएँ । ‘हैन, शुरूमा गल्ती त मेरै पो थियो । ल ठीकै छ, मेरो गल्ती भएपनि उसले पनि कुरा मिलाउन सक्थ्यो कि? अथवा मेरो नजरबाट हेरिदिन किन खोजेन?’

‘हुन त मैले राम्रोसँग उसको कुरा नै कहाँ सुन्न खोजें र? खाली मेरो कुरालाई सही देखाउन उसलाई गलत सिद्ध गर्नतिर लागेछु । ऊ त मलाई सम्झाउन पो आएको थियो । हैन, झनै ठूलो गल्ती भएछ मबाट, के सोच्यो होला उसले? हाम्रो त्यो प्रगाढ सम्बन्ध कतै मेरो घमण्डको कारणले बिग्रिने त हैन?’

एकछिन मनमा उसका सम्झना खेल्नथाले । ऊसँगको मेरो मित्रता स्कुल देखिकै । ८ कक्षा हुँदा पहिलोचोटि भेटेदेखि नै एकप्रकारको घनिष्ठता बढ्दै गयो । पछि सल्लाह गरेर कलेज पनि एउटै पार्यौं । कलेज पढ्दा सँगै ल्याब ग्रुपमा रहेकी केटी उसलाई असाध्यै मन परेको कुरा उसले पहिलोचोटि मलाई नै भनेको थियो ।

गएको नयाँ वर्षमा हामी अरू साथीहरूसँगै पोखरा घुम्न गएका थियौं । उसले त चितवन जँगल सफारी जाने भनेको थियो, तर म त्यहाँ पहिले घुमिसकेकोले पोखरा जाऊँ भनेर कर गरें । उसले पनि मेरो मन राखिदिन राजी मात्र भएन अरू साथीहरूलाई पनि मनायो । साँच्चै उसले मेरो कुरालाई सँधै कति महत्व दिन्थ्यो । ‘ठीक छ अबको नयाँ वर्षमा त उसले भनेकै सफारीमा मैले नै लैजान्छु’, मैले सोचें ।

‘अब त घर पुगिसक्यो होला, के फोन गरेर माफी मागौं ? कतै उसलाई ठूलो देखाएजस्तो त हुँदैन?’ – हातमा उठाइसकेको फोन पनि थन्क्याएँ; ‘भै’गो, आज छाडिदिऊँ, त्यसै कुरा नमिलेको दिनमा’ ।

भोलिपल्ट, उसको घरमै भेटेर राम्रोसँग आफ्नो कुरा भन्छु, र माफी पनि माग्छु जस्तो लाग्यो । ‘कि फोन गरौं पहिले?’ फेरि कहाँबाट सोचाइ आयो – ‘मैले नै किन गर्ने? उसले गर्ला, अनि माफी मागौंला’ – त्यो दिन त्यत्तिकै बित्यो ।

पर्सी; ‘अब त भएन’। ऊ सामाजिक सँजालमा औधी व्यस्त हुने मान्छे, ‘कतै हिजो/आजको केही स्टाटस राखेको छ कि? लाइक गरेर कमेन्टमै घुमाउरो तरीकाले माफी माग्छु, अनि आज त जसरी पनि भेट्न जान्छु’ भन्ने सोच्दै उसको प्रोफाइल हेर्दै गएँ, केही नयाँ कुरा थिएन ।अल्छी लागेर फेसबुकमै स्क्रोल गर्दैथिएँ, कसैले उसलाई ट्याग गरेर स्टाटस राखेको रहेछ; लेखिएको थियो- “हार्दिक श्रद्धान्जली” ।

……………………………………………………………………………………………….

 

– प्रविण टण्डन “वसन्तप्रवीण”

सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

सम्बन्धित शिर्षकहरु