परास्त लोभ ! (कथा)

परास्त लोभ ! (कथा)


~आचार्य राजन शर्मा (भीमसेन सापकोटा ), सिड्नी , अस्ट्रेलिया ।(bhimsensap@gmail.com)

भीष्मको प्रेरित भनाइले, रमनलको उत्साहलाई केही त्राण त दियो तर पोषण र विश्रामको अभावमा गलेको शरिरमा आज भने जागिर खोज्न जाने जांगर हराइ सकेको देखिन्थ्यो ।
“तिमी जाउ,- म आज आराम गर्छु । जती खोजे पनि ‘छैन’- मात्र उत्तर आउंछ । कमसे कम सय ठाउंमा त आफ्नो “सि-भी’ बांडी सकियो तर केहि लछार बाटो लागेन । पिजा पसले ले रकडेलमा त बोलाउंछ कि भन्ने आस थियो त्यो पनि मर्यो “.
भीष्म र रमन नेपालबाट एकै दिन अस्ट्रेलियाको सिड्नी झरेका हुन्। आगमनको सातौं महिना बित्यो , विध्यार्थी प्रवेशाज्ञामा । दुबैले धेरै ठाउंमा काम खोजे , मुश्किलले दुई तीन पटक आंशिक रुपमा काम पाए । तर फेरि संतोषजनक काम गर्न नजानेको भन्दै छुटाईए । भिष्मको काम पुरै छुटेको छ । विश्वविध्यालय को अध्ययन तालिका बाहेकको समयमा काम गर्नु पर्ने , तर सोमबार र विहीवार मात्र कहीं काम नपाउंने भए पछि उसको जीवनको चुनौतिको पहाड उभिएको छ यति वेला । २ महिना लगत्तै सात हजार डलरको पढाई शुल्क तिर्नु पर्ने समय आई सकेको छ ।
साप्ताहिक रुपमा तिर्नु पर्ने घर भाडा २ सय डलर र रेल टिकट , खाना र अन्य खर्च २ सय गरि हरेक साता ४ सय डलर सजिलै सकिने हुंदा खर्चको संकटले भीष्मलाई भीर सम्मनै पुर्याईसकेको छ । ‘बोण्डाइ विच ‘ को एक क्याफेमा दुई दिने आंशिक काम मिले पनि रमनको उहि हालत हो । घरबाट उसलाई खर्चको सहयोग हुने भए पनि , धुवांको सर्को तान्ने र शिसिको विर्को खोल्न पल्किसकेकाले रमनलाई भीष्मको भन्दा बढी नै कमाई गर्नु पर्ने भएको छ ।
‘आफ्नो त सुका कमाई छैन , नेपाल बाट पठाउंने पनि कोहि छैन, बाबु -आमा सानैमा विदा भए , बचेँकाहरु अस्ट्रेलिया बाट कहिले पैसा र सामान पठाउला भन्ने आसमा छन्। ,आफ्नो भने यो हालत छ । म त निस्किएं । यहाँं पनि त रुखमा फल्ने होइन रहेछ । नेपालमा त फोन गर्न पनि मन लाग्न छाड्यो । घरको न्यास्रो लागेर गर्‍यो कि , ” कमाइ कति छ” र “यो’ -‘यो’ पठा मात्र भन्छन्।
ऊ गुनासाका विच , आसा र भरोसाका साथ आज पनि उ काम खोज्न निस्कियो । सिड्नी ‘म्यारिकभिल नगरको माइनस ३ डिग्रिको चिसो र हुस्सु छिचोल्दै । उसको यो दिन चर्या नै बनेको थियो । एक महिना अघि’ सिड्नम’को पिजा दोकानको काम छुटे देखि कै ।
यस्तैमा अर्को २ साता पनि बित्यो भीष्मको । रमनको भने पुरानै काम बाट बोलाहट भयो र काममै ब्यस्त हुन थाल्यो ।
पैसा सकिंदै जांदा पनि बेला-बेलामा कति बांकि छ भनेर , खाता हेरिरहने बानि झन् बड्दै गयो । भिष्मले आफ्नो मोबाइल बाटै ‘कमनवेल्थ बैंक
को खाता खोल्यो । “अब त खातामा केहि हप्तालाई पुग्ने पैसा मात्र बांकि होला। त्यसपछि को सँग हात पसार्नु पर्ने हो । जांच सके पछि त कलेज विदा हुन्छ , कहीं न कहीं ‘फुलटाईम’ काम कसो नपाईएला । ”
भीष्मको गनगन मा रमन ले थप्यो ” मर्ता तो क्या नहिं कर्ता ‘सबै सकियो भने त सबै सँग माग्नु पर्‍यो नि , नभए कतै औंला पनि त बङ्गाउंनु पर्‍यो । ”
‘के त्यस्तो भनेको । राम्रो सोच राम्रै हुन्छ ।”-भीष्मले यति मात्र के भनेको थियो उसको आंखा बैंक स्टेटमेन्ट हेर्ना साथ झस्कियो । र आश्यचर्यको मुद्रामा भन्यो ” यो के अचम्म, लौन हेर त मेरो खातामा त एक लाख डलर पो देख्छु “। खोइ त ” पागल भईस कि क्याहो , जोक गर्छ । “हो भन्या दुई पटक गनी सकें , तं पनि गन त , तीन महिना अघि सम्म जम्मा २ हजार डलर मात्र थियो ।”खोई -खोई, एक दश सय , हजार , दश हजार , लाख , हो त मुला एक लाख डलर पो छ त चमत्कार भएछ कि क्या हो । ल हिंड पार्टी गरौं मस्ति भरौं ” ।
एकाएक ठुलो रकम खातामा देखा परेकाले भिष्मलाई रात भरि निन्द्रा परेन । यसो त रमन पनि मोफदमा यत्रो पैसा भनेर नयां पार्टिको लागि उक्साहट मच्चाई रहेको थियो । तर भीष्मको मनमा भने अर्कै तरङ्ग थियो । “यत्रो पैसा !नेपाली झन्डै एक करोड कसरि मोफदमा आएको हुन सक्छ । आएकै भए पनि यो कसै न कसैको कमाई हो । गुरुले दिक्षा दिंदा भन्नु भएको थियो वाल्यकालमै -अरुको कमाई सित्तै पाईयो भनेर नलिनु त्यसले झन पिर्छ , कर्म लाग्छ । आमाले भनेको पनि उसले सम्झियो , अरुको नासो , गल पासो । बाटोमा हिड्दा सुनको फालि नै भेट्टाए पनि त्यसलाई लत्याएर हिंड्नु पर्छ । यो भगवानको परिक्ष्या पनि हुनसक्छ । भीष्म गम्भिर मनोवादमा थियो । उसले सानोमा पढेको दाउरे र बन्चरोको कथा सम्झियो । दाउरेले आफ्नो फलामको बन्चरो हराएको थियो , जलदेवताले , सुन , चांदी र हिराको बन्चरो दिंदा पनि लिएन पछि इमान्दारिता को कदर स्वरुप देवताले सबै बन्चरो दिएका थिए। उ आश्चर्यको भुमरिमा परे पनि , अन्ततो गत्वा , उसले बैंकमा गएर सो रकमा फर्काउंने र अरुको कसैको कमाइ करोड र अर्ब भए पनि नलिने बिचार गर्‍यो ।
” हे मुला पागल कुरा गर्छ । आफ्नो हातमा परेको धन पनि अरुलाई फिर्ता दिन्छन् यस्तो अभावको बेलामा । बरु दुई जना बांडौ । हाम्रो जीवन नै बन्छ । पढाई छोडौं , नेपाल सुईकुच्चा ठोकौं वा केहि योजना गरौं । धन देखे पछि महादेवको पनि तीन नेत्र भन्छन्। छोड्छन्।
“तं जे जे भन् , मेरो अहिले सम्मको सिकाइ , ध्यान योगको साधनाले त यो रकम राख्न मान्दैन , हेर। यो कसै न कसैको श्रम हो , पसिना हुन सक्छ । अरुको सित्तैमा खान हुन्न । म त बैंकमा जान्छु । र कसरि यस्तो भयो , फिर्ताको पहल गर्छु ‘।
भिष्मको यो समाचार एउटै घरमा डेरा गरि बस्ने सबै विच फैलियो ।
सबैले उसलाई फिर्ता नगर्न सुझाए । एक जना पुराना नेपाली,जे पर्दा पनि नयां विध्यार्थी सल्लाह लिन पुग्थे ,र अहिले पनि लिए , कमल दाईसँग , उनले भने ” तिमी ईश्वरमा विश्वास गर्ने , साकाहार भोजन र शुद्द आचरणको मान्छे , त्यसैले होला भगवानले तिमीलाई यत्रो रकम पारीदिएको । अब चुपचाप जीवन बनाउं । बैंक सैंक जानु पर्दैन , जीवन बनाउं , बरु हामीलाई पनि पार्टी खिलाउ । अरु केही गर्नु पर्दैन । अस्ट्रेलियाको नियम मलाई सबै थाहा छ , तिमीहरु त भर्खरका मैले त यहाँं १५ बर्षे जाडो कटाइसके , बाबु हो ।”
अभावले जति नै कसोस् ,भिष्मले छोडेन , इमान्दारिताको मियो ।
उ आफ्नो नजिकको बैंक शाखा ‘म्यारिकभिलमा “मा पुग्यो र । टेलर सँग सबै विस्तार गर्‍यो । अपत्यारिलो घटना भएकाले टेलरले उसलाई भित्र आफ्नो मेनेजर सम्म पुर्यायो । ” यस्तो घट्ना यदा कदा हुन्छ । कसैले खाता नम्बर भुलेर यसो गर्छन्, कसैले दावि गर्छन्, कसैले गर्दैन्, तपाईंंको मामिलामा गतल खातामा पैसा गयो भनेर कोहि पनि आएको छैन , तर हामी कसरि र कस्को भनेर अनुसन्धान जारी गर्नेछौ, यस्तो इमान्दारिताको लागि आभारि छौं ” “मलाई अरुको कमाई लिनु छैन म फिर्ता गर्न चाहन्छु ”
“यो त अनौठो घटना भयो । हुन्छ परिचय र नम्बर छोडेर जानुहोस्”
बैंकमा खबर गरेको एक हप्ता सम्म पनि कुनै खबर आएको थिएन । त्यसैले खातामा हुनु र वास्तविकतामा अभाव हुनुको द्वन्दले भीष्मलाई समाति रहयो । रमन साथीहरुलाई अझ खुल्दुली र आफुहरुले पनि केहि पाउंने आसा बढ्दै थियो ।
दुई हप्ता पछि अचानक फोन बज्यो !
‘हेल्लो इज दिस भिसम “?अङ्रेजि भाषाको कलर थिए । उनले आफ्नो कम्पनी बाट गल्तिले उनको खातामा एक लाख डलर परेको र बैंकले नम्बर दिएकाले उनलाई दिएकोले संपर्क गरेको बताए ।
भीष्मले तुरुन्तै आफुले रकम फिर्ता गर्न चाहेको बताए। ठुलो रकम भएकाले इन्टरनेट बाट स्थानान्तरण गर्न नमिल्ने भन्दै उनलाई ‘रकडेल’ स्थित कमनवेल्थ बैंकको शाखामा भेट्न बोलाईयो । साथीहरुको तीब्र असन्तुष्टिका बिच बैंकको कोठामा पुगेका उनले भेट्ना साथ बैंक प्रवन्धकको सल्लाह अनुसार चेकमा हस्ताक्षर गरे र डेबिड नामका ब्यक्तिलाई सो रकम हस्तान्तरण गरे ।
डेबिड ‘हजुर कस्तो इमान्दार हुनुहुंदो रहेछ , हामि ठुलो नोक्सानी बाट बच्यौं । तपाईं कुन देशको , काम के गर्नु हुन्छ , हाम्रो गहिरो सद्भाव छ । “धन्यवाद , म एक नेपाली विध्यार्थी हुँ । मेरो काम छैन, खोजिमै छु । तपाईंलाई यो रकम फिर्ता गर्न पाएर खुसी छु । हलुको अनुभव गरेको छु । “भन्नुहोस् ” अब भन्नुहोस् , तपाईंलाई ईनाम स्वरुप कति नगद दिंउं ?-डेबिड ” “मलाई मेरो सन्स्कार र साधनाले इमान्दारिताको कमाई खान मात्र सिकाएको छ ।
“मैले लिन चाहेको भए त बैंकलाई खबरै नगरि बस्ने थिएं नि ! यो इश्वरको परीक्ष्या हो, म परीक्ष्यामा अनुतिर्ण हुनु छैन भन्ने सम्झे र फिर्ताको पहल गरेको हुँ । मलाई केहि दिनु पर्दैन ! “
“तपाइं त कस्तो महान मान्छे । यो धर्तीमा यस्ता मान्छे पनि बांचेका छन्। उसो भए तपाईं के चाहनु हुन्छ त ?”
भिष्मले मुस्कुराउंदै जवाफ दिए : “ म चाहन्छु कि हजुरहरुको खातामा पनि यदि कसैले झुक्किएर रकम हाल्यो भने अवश्य यसरि नै फर्काउंनु होला । म यसैले यहाँ सम्म आएको हुँ । आफ्नो भागमा पर्‍यो भन्दैमा अरुको पेरिश्रमको दाना खानु कर्म बन्धनमा पर्नु हो ”
“तिमीले के पायौ त पाउंनलाई ?”-
“मैले आफु माथि आँफैंले विजय प्राए । मनको द्वन्दमा लालचलाई हराएर र ईमानलाई जिताउंदाको खुसी संसारको कुनै पनि मुल्यले चुकाउंन सकिंदैन । “
डेबिड लगायत सबै उपस्थित आश्चर्य चकित मुद्रामा रहे। माहोल निकै बेर स्तब्ध रह्यो । अस्तु ।। (अष्ट्रेलिया बसाईको क्रममा घटेको , यथार्थ जीवनमा आधारित वास्त्विक कथा )

 

सम्बन्धित शिर्षकहरु