कविता
भौंतारिने यो चञ्चल मन, तिमीतिरै गएर पो रै’छ
यतै कतै छौ जस्तो लाग्ने, छातीभित्रै भएर पो रै‘छ
नभेटेसम्म के थाहा थियो, कहाँ थियौ कस्ती थियौ
जुन दिन देखें अनायास, मेरै सपना जस्ती थियौ
तिम्रै प्रतिबिम्ब कोरिइ, मुटुभित्रै रहेर पो रै’छ
यतै कतै छौ जस्तो लाग्ने, छातीभित्रै भएर पो रै‘छ
तिमी हिंड्ने त्यो गोरेटो, बाटो प्यारो लाग्न थाल्यो
सबै तिम्रा सम्बन्धी र, नातो प्यारो लाग्न थाल्यो
तिम्रै नाम रगतसँगै, नसाभित्रै बहेर पो रै’छ
यतै कतै छौ जस्तो लाग्ने, छातीभित्रै भएर पो रै‘छ
दोषी आँखा निदरीमा, झस्काउने अनुहार खोज्छ
जस्तै मै हुँ भन्ने मन, बाँच्ने एउटा आधार खोज्छ
मुखमा बोली अड्किएको, यो उकुसमुकुस सहेर पो रै’छ
यतै कतै छौ जस्तो लाग्ने, छातीभित्रै भएर पो रै‘छ
यतै कतै छौ जस्तो लाग्ने, छातीभित्रै भएर पो रै‘छ …
________________________________________________________
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com