आँखा जुध्दा तर्की हिंड्छे… (गीत) – शब्द लहर, अँक ३८ – प्रविण टण्डन

              गीत

नजिकैको नातोमा ‘नि, पर्छ तल-माथि

आँखा जुध्दा तर्की हिंड्छे, मन मिल्ने साथी

भित्री मनका कुराहरु, उसैलाई था’थ्यो

केमा चित्त दु:खेछ खै, सोध्न मन ला’थ्यो

भेट हुँदा बोल्दै थिएँ, मुन्टो फर्काइ गा’थी

आँखा जुध्दा तर्की हिंड्छे, मन मिल्ने साथी

चौतारीमा खुशीसाथ, छुट्टिएकै हो नि

लाग्छ अचेल काँचो बुद्धि, भुटिएकै हो नि

हाट बजार पनि अस्ति, अर्कैसँग आ’थी

आँखा जुध्दा तर्की हिंड्छे, मन मिल्ने साथी

जानी-जानी मैले केही, बिराएको थि’न

एक्लै आफै रुन्थें बरु, पिराएको थि’न

मानो राखी आफूसित, दिन्थें खुशी पाथी

आँखा जुध्दा तर्की हिंड्छे, मन मिल्ने साथी

सपनीमा बोलाएर, ल्याएँ हिजो राती

हाका-हाकी भनें किन, दु:खाउँछौ छाती

कुरा मेरो सुन्दा ऊ त, नीली-काली भा’थी

आँखा जुध्दा तर्की हिंड्छे, मन मिल्ने साथी

आँखा जुध्दा तर्की हिंड्छे, मन मिल्ने साथी …

********************************************************************

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

सम्बन्धित शिर्षकहरु