
कविता
के हो कुन्नि खाना हो कि, तिम्रो हातै मीठो
तिम्रा हातले पकाएको, दाल-भातै मीठो
खोटो दिन्छ राम्रो मुखले, भनेपछि सल्लो
खोटो मनले दिए तर, अमृत ‘नि खल्लो
हाँसी-खुसी बनाए त, झार-पातै मीठो
तिम्रा हातले पकाएको, दाल-भातै मीठो
मन भित्र हुन्छ माया, यसको आकार छैन
माया बिना बाँच्नु को त, केही सार छैन
तिमी सित बिताएको, दिन-रातै मीठो
तिम्रा हातले पकाएको, दाल-भातै मीठो
एकै गल्ती ले ‘नि मान्छे, भुमरीमा पर्छन्
आफ्नाले त सयौं गल्ती, माफै पनि गर्छन्
बरु तिमीले रिसाउँदा, ला’को बातै मीठो
तिम्रा हातले पकाएको, दाल-भातै मीठो
के दियौ खै मिसाएर, निद्रै भगाउने
जति थपी खाएपनि, कै’लै नअघाउने
तिमी साथै भए लाग्छ, साढे सातै मीठो
तिम्रा हातले पकाएको, दाल-भातै मीठो
तिम्रा हातले पकाएको, दाल-भातै मीठो …
*******************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com



