असनेपाल न्युज । सिड्नी
विश्व मै र यदाकदा नेपाल मै पनि पहिचानको मुद्दा बहुतै बिकाउ भै दिन्छ । कतिपय देश, स्थान अनि समाज, आफ्नो मौलिक पहिचान कै कारण, एकता र समृद्धि तर्फ अघि बढिरहेका छन त, कतै यही पहिचान सम्बन्धि गलत बुझाइ र प्रयोगका कारण पतन तर्फ भासिएका छन । केही समय कै अन्तरालमा वस्तीका वस्ती, खरानीको थुप्रोमा परिणत भएका पनि कयौ उदाहरण छन ।

हो, पहिचान त चाहिन्छ नै ! तर के मा ? जात अनि सम्प्रदायमा कि संस्कार, सस्कृती, भेषभुसा, चालचलन तथा रहनसहन मा ? मौलिक पहिचानले नै ब्यक्ति र समुदायको प्रतिष्ठा बढाउने हो, इज्जत दिलाउने हो । त्यो मौलिकता चाहीँ, कला र संस्कृती, रीतिरिवाज, संस्कार अनि रहनसहन मार्फत प्रकट हुने हो । र आफ्नो मौलिक पहिचान कै कारण, ब्यक्तिले अरु भन्दा फरक महशुस गर्दछ, विशेष सम्मान र आदर प्राप्त गर्दछ । उ स्वयं लाई नै पनि आफू र आफ्नो पहिचान प्रति गौरव बोध गर्दछ ।
के एकै जात वा सम्प्रदायका कुरा सदा मेल खान्छन् त ? फरक जात वा सम्प्रदाय सँगका मुद्दा र बिषयवस्तुलाई लिएर, तत्काल मिले झै देखिन्छ, लाग्छ । तर जब मामला शान्त हुन्छ, तब आफ्नै भनिएका हरु बीच पनि लड्न झगड्न शुरु भै हाल्छ । ३ जना ब्यक्ति हुँदा, रहँदा सम्म कुनै २ मिलेर, अर्को एकलाई खुबै सताउन, दुख दिन सक्छन । तर फेरि उक्त तेस्रो ब्यक्ति, ती दुइले दिएका, दवाव अनि कष्ट खेप्न नसकेर दृश्यबाटै हराइदिन्छ; केही समय पछि तिनै दुई बाँकी बचेका बीच द्वन्द अनि खटपट शुरु भै त हाल्छ । द्वन्द र उल्झन भनेको एक यस्तो खिचडी (प्रक्रिया) हो, जुन एकै ब्यक्तिको मन अनि दिमाग भित्र पनि यो वा त्यो नाममा पाकी रहन्छ ।
त्यसैले कुनै एक जाती अनि सम्प्रदाय ले नै सिङ्गो भुगोल पाउँदैमा, सदा सर्वादा मिलेर बस्छन, शान्ती र अमनचैन कायम हुन्छ, भनी सोच्नु दिवा स्वप्न बाहेक अरु के नै भन्न सकिन्छ र ? एकै जात वा सम्प्रदायका कारण बिकास हुने र समृद्धि आउने भए, अस्तित्वमा आएको हिसावले कान्छो वर्गमा पर्ने अमेरिका किन पो विश्व नं. १ बन्न सक्थ्यो होला र ? मान्छे एक अर्को सँग मिल्न सक्नु र नसक्नुमा, एकै जात र सम्प्रदायको भन्दा नि, उस्का भावना, शिक्षा, संस्कार अनि उनीहरुका आवश्यकताका आधारमा निर्धारण हुने गर्दछ ।
र नेपालको पहिचानका बारेमा सबैलाई थाहै भएको कुरा हो कि, नेपाल एक बहुभाषिक, धार्मिक अनि बहुलवादमा आधारित समाज भएको देश हो । अनेकता कै बीच समेत विश्व नै चकित पार्ने अनौठो एकता, नेपाली हरुकै बीच मात्र देख्न सकिन्छ । एकै समुदायमा फरक जात, भाषा, धर्म, सम्प्रदाय, संस्कार अनि संस्कृति र रहनसहन भएरै पनि एक अर्काको अस्तित्व सहर्ष स्वीकार गर्दै, आपसी प्रेम अनि सद्भावमा बाधिन सक्ने सायद विश्व मै नेपाली मात्र हुन, भन्दा फरक नपर्ला ! आपसी खुशीमा साथ अनि मर्दा पर्दा हाथ (सहयोग) बढाउन कुनै कसर छोड्दैनन्, नेपालीहरुले ।
दुख अनि पीडालाई पचाएरै, अतिथी समक्ष मुस्कुराउन सक्ने तागत नेपालीहरु मै छ । थोरै सुख सुबिधा कै बीचमा पनि रमाएर जीवन जीउन जान्ने नेपालीहरु नै हुन । एक नेपालीलाई दुख्दा अर्को नेपालीलाई चसक्क मुटुमा बिझ्ने, यो नेपाली पन साच्चै अद्धितिय थियो र अझै छ । नीजि भोगविलास र मोज भन्दा माथी पारिवार अनि सामजिक दायित्व स्वीकार गर्ने कर्तब्यभाव, सायद नेपाली मुटु मै मात्र भेटिन्छ ।
तसर्थ पहिचान, एक अर्कोलाई सिध्याउने चिहानमा नभै, भावी पुस्ताको सुन्दर बिहानीमा खोजौ ।
बालबालिकाको जयहोस ! सबैको सदा जयहोस !!







