विश्वगुरु देश नेपालको अभियान विश्वव्यापी विस्तार: कैलाश–मानसरोवरमा १०८ योगीद्वारा ऐतिहासिक अन्तर्राष्ट्रिय योग दिवस, योगी आचार्य राजन शर्माको नाङ्गो खुट्टा कैलाश परिक्रमा 
काठमाडौं। नेपाललाई “विश्वगुरु देश” का रूपमा स्थापित गर्ने अभियानले अन्तर्राष्ट्रिय स्तरमा नयाँ चर्चा पाउन थालेको छ। अन्तर्राष्ट्रिय योग प्रवर्तक, सद्गुरु योगी आचार्यश्री राजन शर्माको नेतृत्वमा सञ्चालित विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) ले विगत दुई दशकदेखि योग, ध्यान, आयुर्वेद, तन्त्रज्ञान तथा नेपाली सनातन आध्यात्मिक परम्पराको निःशुल्क प्रचार–प्रसार गर्दै आएको छ।
यसै अभियानअन्तर्गत, हालै १०८ योगी (नेपाल तथा विभिन्न देशका प्रतिनिधिहरू) को सहभागितामा पवित्र कैलाश–मानसरोवर क्षेत्रमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस विशेष रूपमा मनाइएको थियो। आयोजकका अनुसार, सहभागीहरूले नेपालको राष्ट्रिय झण्डाको आकृतिमा सामूहिक योग, ध्यान र तपस्या गर्दै “विश्वगुरु देश नेपाल” र नेपालको प्राचीन आध्यात्मिक सम्पदाप्रति सम्मान व्यक्त गरेका थिए।
कार्यक्रमका आयोजकहरूले यसलाई उच्च हिमाली क्षेत्रमा सम्पन्न भएको ऐतिहासिक अन्तर्राष्ट्रिय योग दिवसका रूपमा वर्णन गरेका छन्। उनीहरूका अनुसार, यस कार्यक्रमलाई चीनका केही सञ्चारमाध्यम र सम्बन्धित पर्यटन निकायहरूले पनि विशेष महत्वका साथ उल्लेख गरेका थिए।
यसै क्रममा, बाँसबारी, सिन्धुपाल्चोकमा जन्मिएका तथा हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका योगी आचार्य राजन शर्मा (भिमसेन सापकोटा) ले काठमाडौंबाट यात्रा प्रारम्भ गरेदेखि नै नाङ्गो खुट्टामा कैलाश–मानसरोवर यात्रा सम्पन्न गरेको GSPSS ले जनाएको छ। संस्थाका अनुसार, उनले यमद्वारदेखि करिब ५२ किलोमिटर लामो कैलाश परिक्रमा अत्यन्त कठिन हिमाली मौसम, हिमपात र उच्च उचाइका बीच नाङ्गो खुट्टामै पूरा गरेका हुन्। आयोजक पक्षले यस उपलब्धिलाई ऐतिहासिक भएको दाबी गर्दै सम्बन्धित निकायबाट औपचारिक मान्यता प्राप्त गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।
योगी आचार्य रजन शर्माले भने, “मैले कुनै कीर्तिमान राख्ने उद्देश्यले यात्रा गरेको होइन। मेरो उद्देश्य नेपाललाई विश्वगुरु देशका रूपमा चिनाउने, नेपालको आध्यात्मिक परम्परा र योगको सन्देश विश्वभर फैलाउने थियो। यदि यो यात्रा ऐतिहासिक बनेको छ भने, त्यो भगवान् शिवको कृपा, ऋषिहरूको आशीर्वाद र मातृभूमिको गौरव हो।”
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सम्बन्धित निकायबाट अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रममा फहराउनका लागि नेपालको राष्ट्रिय झण्डा औपचारिक रूपमा हस्तान्तरण गरिएको पनि आयोजकले जनाएको छ। उक्त झण्डा कैलाश–मानसरोवरमा फहराउँदै नेपालको आध्यात्मिक पहिचानको सन्देश दिइएको बताइएको छ।
विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) ले विगत करिब २० वर्षदेखि विश्वभर निःशुल्क रूपमा योग, ध्यान, आयुर्वेद, संस्कृत, वैदिक ज्ञान, तन्त्र, सार्वजनिक वक्तृत्वकला, ज्योतिष तथा व्यक्तित्व विकास सम्बन्धी अनलाइन प्रशिक्षण सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाका अनुसार, विश्वका विभिन्न समय क्षेत्रमा दैनिक रूपमा सञ्चालन हुने यी कार्यक्रमहरूमा हजारौँ साधक सहभागी हुने गरेका छन्।
नेपालका विभिन्न योग संस्थाका प्रतिनिधिहरूले पनि उक्त अभियानको प्रशंसा गरेका छन्। सहभागी योगीहरूको भनाइमा, नेपालको आध्यात्मिक सम्पदा र योग परम्परालाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने अभियानले नेपालको पहिचानलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
आयोजक संस्थाले नेपाललाई शान्ति, योग, अध्यात्म, मानवता र प्राचीन ज्ञानको भूमि का रूपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।












