त्यै’ जुनको आफ्नो मान्छे… (गीत) – शब्द लहर, अँक ३६ – प्रविण टण्डन

            गीत

साज-श्रिंगार नगरे ‘नि, जुन कति राम्रो

त्यै‘ जुनको आफ्नो मान्छे, हुन कति राम्रो

रातै पनि उजेलिने, उदाउँदा रुपमती

मनै छ नि त्यति सुन्दर, माया होला त्यसमा कति

प्रीतको उनले सुकाएको, बिस्कुन कति राम्रो

त्यै‘ जुनको आफ्नो मान्छे, हुन कति राम्रो

काला आँखा झनै काला, गाजल ती परेर

देखिएको कुमको कोठी, पछ्यौरी त्यो झरेर

चोखो जोवन पिरतीले, छुन कति राम्रो

त्यै‘ जुनको आफ्नो मान्छे, हुन कति राम्रो

एक झल्कोले चाख बढ्ने, हेर्न पर्ने फेर-फेर

जिन्दगी नै फेरिदिने, ती नजरको हेरफेर

दु:ख पर्दा ती आँखामा, रुन कति राम्रो

त्यै‘ जुनको आफ्नो मान्छे, हुन कति राम्रो

ठेस लाग्दा झल्को त्यही, सहारा भइ दिने

उजाड भा’को जिन्दगीमा, बहार भइ दिने

चुप-चाप लगाएको, गुन कति राम्रो

त्यै‘ जुनको आफ्नो मान्छे, हुन कति राम्रो

खोट छैन भनेपनि, दाग मनमा लागिहाल्छ

बाँधु भने पनि जति, पाप कतै जागिहाल्छ

सम्बन्धले मनको मैलो, धुन कति राम्रो

त्यै‘ जुनको आफ्नो मान्छे, हुन कति राम्रो

त्यै‘ जुनको आफ्नो मान्छे, हुन कति राम्रो …

********************************************************************

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

सम्बन्धित शिर्षकहरु