एक कार्यकर्ताको कथा 
तिनी थिइन् टनकप्रसादकी दुलही । पहिले बत्तीसै लक्षणले नभएपनि बत्तीसै दन्तले युक्त भएकी भनेर भित्राइएकी उनी अहिले दन्तस्खलन रोगबाट पीडित थिइन्, र त्यहीं दाँत कयौंपटक टाल्दाटाल्दै टनकप्रसादको खल्ती चुहिनथालिसकेकोले उनले यो अनवरत प्रक्रियालाई अन्त्य गरिसकेका थिए; फलस्वरुप उनी शुद्ध शाकाहारी भैसकेकी थिइन् । पहिले उनी आफ्नी दुलही हाँसिरहेको , बोलिरहेको हेर्न मन पराउँथे; तिनका स्वस्थ दन्तलहरमा उनी आफ्नो पुरुषार्थ पाउँथे , तर अचेल उनी आफ्नी दुलही सकेसम्म मौन रहुन् भन्ने चाहन्थे, तिनका ध्वस्त दन्तलहरमा उनी आफ्नो नालायकीपन, असफलता र निकम्मापन देख्थे ।
पूर्वावस्थामा टनकप्रसाद दलाल थिए । यताको जग्गा उता र उताको जग्गा यता गरेर अलिअलि कमिशन चुहाउँदै उनी जसोतसो टिकिरहेका थिए , तर जसैजसै दलालतन्त्रमा ठगतन्त्र हावी हुँदै गयो, उनीजस्ताको बाटो बन्द हुँदै गयो । आखिरीमा केही आय-उपाय नलाग्ने भएपछि उनी राजनीतिमा लागे। उनी आबद्द थिए, “भोकमरी उन्मुलन दल”सँग । केही समय त उनको चुरी-फुरी देख्न लायकको थियो । शुष्क भुँडी र हातमा रित्तो थाल लिएको मान्छेको आकृति अँकित उनको दलको झन्डा बोकेर उनी खुबै खटिए । उनको निष्ठा यति विंघ्न थियो कि आफ्नो घरको छाना र यहाँसम्म कि आफ्नो सुत्ने कोठा र चर्पीमा समेत झन्डा गाड्न छोडेका थिएनन् । घरमा आउने हरेकलाई र बाटामा भेटिने जोसुकैलाई उनी आफ्नो दलको विचार, सिद्दान्त र भावी योजना सुनाउँदै हिँड्थे । तर यस्तैमा उनको दल “भोकमरीपीडित उन्मुलन दल” सँग एकीक्रित हुनगयो । उनी आफ्नो दलको यस्तो कामको घाँटी नसुकुन्जेल घोर विरोध गरिरहे, तर उनको आवाज उनीबाहेक कसैले सुनेन । केहीदिन त उनी भोकमरी उन्मुलन दल (मुलधार) लिएर पनि हिँडे, तर सबै कार्येकर्ता पाखा लागिसकेकोले उनको एक सदस्यीय पार्टीको कुनै अस्तित्व रहेन , त्यो आँफै भँग भयो । स्व. भोकमरी उन्मुलन दलको पीडाले आहत भइ उनी गाउँ फर्कन वाध्य भए , केही दिन सम्म त सपनामा पनि रित्तो थाल बोकेको मान्छे देखिन थाल्यो । तर घर आउँदा पो चाल पाए, आफ्नै घर भोकमरीले ग्रस्त हुनथालिसकेको रहेछ । त्यसपछि उनले छोरालाई सदस्य बनाइ आफ्नो पुर्खौली हलोपार्टीमा आबद्द भए, दुलही र छोरीलाई गाई-वस्तु पार्टी जिम्मा दिए, र अहिले सुखमय जीवन बिताइरहेका छन् ।
अहिले पनि टनकप्रसादलाई पार्टीको कुरा गर्यो भने झनक्क रिसाउँछन्, र उस्तैलाई दनक दिन पनि पछि पर्दैनन् ।
************************************************************************
(सम्पूर्ण पेशा/व्यवसायको समाजमा आफ्नै विशिष्ट योगदान छन् । गाईजात्राको अवसर समेत पारेर प्रस्तुत यो हाँस्य-व्यङ्य एक विशेष परिवेश र पात्रमा केन्द्रित रहेको र कसैप्रति लक्षित नरहेको अनुरोध गर्दछु ।)
– प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com






