भानुका नाममा~कविता

ममता तिवारी अनेसास एनएसडब्ल्यू च्याप्टर सिड्नी ।

भानुका नाममा~कविता

भानुका नाममा केही शब्द
आमाले सीताको कथा सुनाउनु भो
बाबाले रामको कथा सुनाउनु भो
कथाको क्रम रोकिएन
मैले लवकुशको कथा
सुनाएँ छोराछोरीलाई ।

अचेल
राम, सीता र लवकुशहरु
फरक भएका छन्
अचेल
रावण, विभीषण र कुम्भकर्णहरु
भिन्न भएका छन् ।

कोही शहर पसेका छन्
कोही राजधानी पसेका छन्
कोही खाडी पसेका छन्
कसैले समुद्र नाघेका छन् ।

तर
रामायणको नयाँ अर्थ
उस्तै छ
रामायणको नौलो भाव
उही छ ।

भानुभक्तले जति जीवन बुझे
सपना, आदर्श र व्यवहार जाने
रामायणभन्दा पर
अचेल जीवन युद्धमय छ
रामायणभन्दा परतिर
अचेल जीवन झन् समरमय छ
भानु !
अब तिमीले अर्कै रामायण लेखिदेउ
अब तिमीले हामीले भोगेको जीवन कथा लेखिदेउ ।

सम्बन्धित शिर्षकहरु