अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा लोकप्रिय गायक/सँगीतकार राज सिग्देलको एकल प्रस्तुति आयोजना भएको छ ।

ईन्गलबर्न, सिड्नीस्थित “कालापानी नेपाली रेष्टुरेन्ट” मा मार्च १० तारिख, आइतबारका दिन आयोजित सो कार्यक्रममा गायक राज सिग्देलले आफ्ना चर्चित गीतहरूका साथै अग्रज श्रष्टाका कालजयी गीतहरू पस्किएका थिए । उनलाई सिड्नीकै चिरपरिचित गायक/गायिका सुजाता उपाध्याय, ईश्वर पोखरेल र केदार बरूवाल क्षेत्रीले साथ दिएका थिए । सहभागी दर्शक/श्रोताले समेत सँगसँगै गाउँदा हल नै सुमधुर गीतले गुन्जायमान बनेको थियो ।
सिड्नीस्थित चर्चित साहित्यकार/गजलकार जितेन्द्र मल्ल, निस्प्रभ सजी, सुरेन्द्र दवाडी, महेश्वर शर्मा, बुद्धिसागर दवाडी, अस्मित रेग्मी, राहुल अर्याल र छत्रबहादुर धामीका सुन्दर रचनावाचनबाट शुरू भएको कार्यक्रममा प्रायोजकहरू र कार्यक्रम सँयोजनमा सहयोग गर्नुहुने प्रवीण टण्डनलाई गायक राज सिग्देलबाट प्रशँसापत्र समेत प्रदान गरिएको थियो ।
अनेसास न्यू साउथ वेल्सबाट भावना पराजुली र महिमा दीप फुल्लेलले सन्चालन गरेको सो कार्यक्रमको सँयोजन अध्यक्ष डा. प्रकाश पौडेलले गर्नुभएको थियो ।
⁃ असनेपालन्युज सँवाददाता








