हिसाब (कथा )~प्रविण टण्डन

हिसाब (कथा )

~प्रविण टण्डन “वसन्तप्रवीण”  
“कति गर्नुहुन्छ हिसाब? जति गरेपनि तपाईंकै आमाको पोल्टामा जानेरै’छ! औषधी भन्यो, कपडा भन्यो, के-के हो के-के“ – शकुन्तलाले उही परिचित सुस्केरा हाल्दै भनिन् ।रमण कहिले आफ्नी श्रीमतीलाई, कहिले लेख्दैगरेको कापी हेर्दै टोलाए झैं गर्न थाल्यो । “हैन, आमाको अलि-अलि खर्च त दिदीले दिए ‘नि हुने नि”, उनले थप्दै गइन्, “बिहे गरेर गएको भन्दैमा, एकचोटि फर्केर हेर्न नहुने त हैन होला” । रमणले सही थाप्यो – “त्यहीं त, वहाँ भने भिनाजु बैंकको मेनेजर, कता-कता सेयर छ अरे; यसो ‘ला भाइ’ भन्दा पनि हुन्थ्यो नि, सबै उस्तै” ।

मिर्गशिरा बजारको छेउको यो दुईतले घर, अनि यी दुई जोइपोइको यो वार्तालाप यसरी चल्न थालेको लगभग दुई वर्ष भयो; जतिबेला रमणकी आमा हरिकलालाई बाथको व्यथाले छोयो ।

जाडोको महीना थियो, सँधैजस्तो बिहानी झुल्कोसँगै उठ्न खोज्दा हरिकलाका हात-गोडा कक्रक्क परे। एक घण्टा त ओछ्यानबाट उठ्नै सकिनन्, भित्तामा झुण्डिएको आफ्ना स्वर्गवासी पतिको फोटो हेर्दै टोलाइरहिन् ।
नातिनी सपना आएपछि बल्ल एकहातले समातेर खडा भइन् । एक हप्ता त्यसै बित्यो , दु:खाइ खप्नै नसक्ने भएपछि छोरालाई भनिन् । उसले पनि त्यसको दुई सातापछि बजारकै डाक्टरकोमा लिएर गयो ।
भिडियो एक्सरे-आदि सबै गरेपछि रोग पत्ता लाग्यो , डाक्टरले केही औषधी लेखिदिए । पहिलेभन्दा दु:खाइ कम भयो तर अझैपनि तीन महीनामा एकचोटि गइरहनपर्थ्यो ।औषधी खर्च भन्ने हो भने रमणले रक्सी-चुरोटमा जति पैसा उडाउँथ्यो, त्यसको आधा पनि नपर्ने; तर यो घरमा कलहको एउटा बीऊ त्यो पनि बन्दैथियो ।

“बाबु, अब त भोलिलाई मात्रै बाँकी रै’छ ओखती” – हरिकलाले छोरालाई सकिन लागेको औषधीको प्याकेट देखाउँदै भनिन् । “हैन तपाईंले डबल त खानुहुन्न? अस्ति भर्खर ल्याएजस्तो लाग्छ” – रमणले झुसी परेको निधार खुम्च्याउँदै भन्यो – “आमा, कहिलेकाँही त दिदीलाई पनि भन्ने गर्नु न , मलाई मात्रै ..” ।

उता बजारछेउकै स्कुल, केटाकेटीले घोकेर पढेको चौरसम्म सुनिन्थ्यो । नेपाली पढाउने सबैका प्यारा शिक्षक, जसलाई सबैले “रमेश सर” भनेर चिन्थे, आज विध्यार्थीहरूलाई सँस्कृतको यहीं श्लोक पढाइरहेथे’ – “बाबु-नानीहरू, ‘जननी जन्म भूमिश्च स्वर्गादपी गरीयसी’, अर्थात जन्म दिने आमा र आफ्नो देशको महिमा स्वर्गभन्दा पनि ठूलो हुन्छ” ।

त्यस्तै अर्को एक दिन ।रमेश सर रमणकै घरको बाटो जाँदैथिए , उही कलह पोखिएर बाहिरसम्म सुनियो- “मैले पहिले नै भनेको तपाईंलाई आमा”, रमणको चर्को स्वर उनले ठम्याइहाले – “सक्दिन अब, राख्नै दिएजस्तो ‘ले’ भन्न कति सजिलो है” । भुँइतिर हेरेर जुत्ता बजाउँदै रमण निस्किंदा झण्डै रमेश सरसँग ठोक्किएन, धन्न उनी हान्ने गोरू आएझैं छेउ लागेकाले मात्र बचे ।
वर्षको पुछारतिर, शैक्षिक पात्रो सकिन लागेको थियो । रमेश सर अर्कै कामले बाटामा निस्किएका, रमणकी छोरीको नयाँ भर्नाको कुरा र भेटघाट पनि गरिहालौं भनेर आँगनमा पुगे ।“नमस्कार आमा”, हरिकलालाई उनको आगमन अप्रत्याशित नै थियो “नमस्ते बाबु”; एक हातमा बत्ती कात्दै गरेको कपासको डल्लै बोकेर हात जोड्दै भनिन्- “ए, आज कहाँबाट बाटो बिराउनुभएछ नि”? “बाटो बिराएको हैन आमा”, रमेश सरले कहाँ बसौं भनेझैं गर्दै-गर्दा हरिकलाले मुडा टक्रयाइसकेकी थिइन्; “सपनाको पढाइको कुरा गर्नुथियो, अनि आमालाई पनि कस्तो छ, भेटौं भनेर पसेको” । “आउनुपर्छ बाबै, नभेटे त आफ्ना पनि टाढा हुन्छन् भन्छन्; केही खानु न म चिया बसालिहाल्छु” – हरिकलाले एकै सासमा भ्याइन् । “हजुर पर्दैन, खाना खानेबित्तिकै हिंडेको म त” – नारायण दाइको होटेलको म:म अझै घाँटीमै बसेजस्तो भइरहेको थियो उनलाई । “अनि भन्नुस् आमा, तपाईंलाई सबै ठीकै त छ नि”?यति सुन्दैमा बिचरी बूढीको हृदयसँगै आँखा रसाएर आयो – “ठीकै त छ बाबु, बाँचिएकै छ के रे” – हरिकलाले गहबाट छचल्किन खोजेका आँसुका दाना रोक्न लाख कोशिस गरिन्, तर सकिनन् ।
रमेश सरले पनि थाहा नपाएजस्तो बाटातिर हेर्नथाले । एकछिनको मौनतापछि उनको मानसपटलमा घुमिरहेको केहीदिनअघिको घटनालाई सम्झँदै सोधे- “हेर्नुस् आमा, हुन त म तपाईंहरूको कोही पर्दिन। मेरो घर यहाँबाट धेरै टाढाको गाउँमा । तर मेरो घरमा तपाईंजस्तै मेरी आमा हुनुहुन्छ।बाबा सानैमा बित्नुभयो, आमाले खेती-किसानी गरेर बडो दु:खले आज यो लायक बनाउनुभएको छ । जब तपाईंलाई देख्छु, आफ्नै आमाको याद आउँछ । ” अब भने हरिकला बर्कोले निर्धक्क आँसु पुछ्न थालिन् । जति-जति रमेश सरका कुरा सुन्दै जान्थिन्, खुट्टाले टेक्ने ठाउँ पाएजस्तो लाग्नथाल्यो । कुरा खेलेर सासै रोकिएलाझैं हुने मन बिस्तारै हल्का हुन लाग्यो । अनि उनले पनि कुरा खोलिन्- आफ्नो औषधी र अरू खर्चको नाममा हुने कचकच । अब भने रमेश सरलाई सबै छर्लगं भयो । एकछिन घोत्लिएपछि उनले भने, “आमा, मलाई एउटा खाली कापी दिनुस् न” – हरिकलाले नातिनीकै पुरानो कापी खोजेर दिंदासम्म उनी सर्टबाट झिकेको डट्पेन ‘पिटिक-पिटिक’ बजाइरहेका थिए । “ल अब मलाई भन्नुहोस्” – रमेश सरले कापीको एक पानामा बायाँपट्टी आफैं के-के लेखे, अनि दायाँपट्टी सोध्दै क्रमैसँग लेख्न थाले । सप्पै भ्याएपछि पानाको अन्तिममा अलि ठूलो अक्षरमा केही लेखेर पक्क परिरहेकी हरिकलालाई दिए । बूढी मान्छे, पहिले घाँस-दाऊरा, वस्तु-भाउ भन्दै ठीक हुन्थ्यो; तर धन्न बूढाले नै हौस्याएर प्रौढ शिक्षा गएपछि अक्षर चिन्ने सम्म भएकी थिइन् ।
रमेश सरले के-के भनेर “आमा म लागें है” बोलेको सुन्दासम्म हरिकला तन्द्रामा भएजस्ती थिइन्- आफ्नै विचार र भावनाको गहिरो द्वन्दमा परेजस्ती । तर जब केही समयपछि बिस्तारै उठिन्, उनको आँखामा अनौठो निश्चय देखिन्थ्यो ।

दुई दिन पछि- “यो पालि चाहिं कति चाहियो आमा”- श्रीमतीलाई साक्षी राखेझैं गरी रमणले सोध्यो । हरिकला हातले पख् भन्दै आफ्नो कोठामा गइन् ।छोरा-बुहारी अचम्म मान्दै एक-अर्कालाई हेर्दै आमा गएतिर मुन्टो फर्काइरहे । हातमा एउटा कापी बोकेर हरिकला आइपुगिन्, अनि झण्डै बजेट भाषणकै शैलीमा प्रष्ट सुनिने गरी भन्न थालिन् :- “नर्सरी देखि १० सम्मको – १३,००० ८ कक्षामा दुईचोटि फेल भएको थप- २,००० १० देखि डिग्री पढ्दासम्म- ६,००,००० खेल्दा लडेर मेरो माईतीको पेवा बेचेर उपचार गरेको – ५०,००० (उनको करूणा मिश्रित आवाज बेला-बेला रोक्किन खोज्थ्यो, तर बल गरेर बोल्दै गइन्) पहिले भाडामा बस्दाको एकजनाको भागको – २,००,०००.. जम्मै गरेर आजको मोलमा तेरा बा र मैले खर्च गरेको नौ लाख बयालीस हजार आठ सय पचास रूपैयाँ । अनि आफ्नो मोल कति राख्छस्? तलाईं जन्म दिएको पनि थपेर ले”

अघिदेखि नै सपना-विपनाको होस गुमिसकेको रमणलाई यो उत्कर्ष उसले तान्ने तीनपानेभन्दा पनि कडा थियो – कोठामा यताउति झ्याऊँकिरी उडेझैं देख्दा-देख्दै भुइँमा डन्लगं पल्टियो – हरिकलाचाहिं “मेरो बाबा” भन्दै उसलाई छोप्न दगुरिन् ।

सम्बन्धित शिर्षकहरु