खिर्खिरे मा जिन्दगी खियाउदै
झराही मा जिन्दगी फुटाउदै
बाच्नुमा बिझेका खतहरु
बगेर गएका रगतहरु
अमृत सम्झी पिउदै
हुर्कदै छ
मेरो एक्लो छोरो।
उसले पनि मैले जस्तै कुट्नेछ
कुटाइ खादै पत्थरहरु फुट्नेछ
झराहीलाई छक्काउदै
ट्रक,टेक्टरहर भर्नेछ
केही पैसो समाउदै
एक ट्वाक लागाउदै
दिनहरु चलाउने छ
र
फेरि गिट्टी कुट्नेछ,
पत्थर फुटाउने छ
मुलुक भन्दा पर बसेर
मेरो वंश धान्दै
आफ्नै सांसारमा रमाउदै,
झराहीमा जीवन बिताउनेछ
मेरो एक्लो छोरो।
मेटिदैन कर्म उसको
फेरिदैन दैनिकी उसको
पीडा पखाल्दै पत्थर सङ्ग
धुरु धुरु रुनेछ
र
कहिल्यै पूरा नहुने
सपनालाई धिक्कार्नेछ
मेरो एक्लो छोरो।
किन कि
राज्यको दुर परिदृष्यमा
नैतिक मुल्यको परिक्षा दिदै
निष्ठावान भएर
कर्मलाइ इमानको वृत्तभित्र पार्दा
कयौं चोटि मैले जस्तै
सयौं देवि देउता फुटाउने छ
शालिग्राम लाई पत्थर मानी
धेरै पटक बेचिदिने छ
त्यसैले
****
त्यसैले
रिसाएका देउताको गोडा नमोली
मैले जस्तै जीवन जिउने छ
रित्तो पेटमा रन्थनिने मनुवाहरु पाल्दै
मेरो एक्लो छोरो!!!
राजेश बुढाथोकि
कोषाध्यक्ष,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), ओर्सेनिया संयोजक समिति
२२ मार्च २०१६, हाल पर्थ
* झराही* नवलपरासी जिल्लामा अवस्थित एउटा खोला जहाँ सयौं घर धुरीले गिट्टी र बलुवा चालेर जिविका चलाइरहेका छन।







