“मनमा सुनगाभा फुल्छ भने बुढो हुन्छ र” -अल्पबिराम पोखरेली

“मनमा सुनगाभा फुल्छ भने बुढो हुन्छ र” -अल्पबिराम पोखरेली

मुक्तक-1
छिप्पिएको बाँस काट्दैमा मुढो हुन्छ र
बाँसको घाँस पकाउँदैमा कुँडो हुन्छ र
दाह्री जुङ्गा र कपाल सेतै फुल्यो भन्दैमा
मनमा सुनगाभा फुल्छ भने बुढो हुन्छ र ।

मुक्तक -2
तिम्रो रूपको बुइगलमा मेरो शब्दको धन्सार छ
जस्तो मैले चाहेको थिएँ त्यसै अनुसार छ
तिमी छ्यौ मेरो जीवनको सार त्यसैले म छु
तिम्रो आँखाको नानीमा मेरो साहित्य सन्सार छ ।

मुक्तक -3
दुख कष्ट सर्वतजस्तै पिउन खोज्छु पिउन सक्दिन म
जिन्दगी नदीजस्तै जिउन खोज्छु जिउन सक्दिन म
फाटेर धुजा धुजा भएको यो असहाय मन
आश्वासनले लुगाजस्तै सिउन खोज्छू सिउन सक्दिन म ।

मुक्तक -4
समयको खुल्ला किताब हो जिन्दगी
आँसू र हाँसोको हिसाब हो जिन्दगी
अर्थ शास्त्रको मांग र आपुर्ति नियम जस्तै
पुरा हुनै नसक्ने जवाफ हो जिन्दगी ।

मुक्तक 5
बसन्त ऋतुमा जब कोईलीले गीत गाउँछ
प्रेम दिवस आएछ भनेर जताउँछ
चखेवा र चखेवी प्रेम लिला देख्छु
मलाई भने तिम्रो यादले सताउँछ ।

मुक्तक 6
मनमा जे भए पनि मुखले बोलि दियौ धन्यवाद छ
रगतको साइनो मुल्यमा तौलि दियौ धन्यवाद छ
आफन्त भनेको आफन्तै हुन्छ भन्ने बिश्वास थियो
तर तिमीले मेरो आँखा खोलि दियौ धन्यवाद छ ।

सम्बन्धित शिर्षकहरु