एजेन्सी- बंगलादेशमा आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ। ४५० भन्दा बढी घाइते भएको पुष्टि भएको छ। बंगलादेशको दक्षिणपूर्वी शहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार आगलागी भएको थियो। उक्त भण्डारगृहमा भएको आगलागी र भयानक विस्फोटनका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने अन्य सयौँ घाइते भएका छन् ।
सिताकुन्ड क्षेत्रमा रहेका थुप्रै सिपिङ कन्टेनरमा लागेको आगो निभाउन सयौँलाई परिचालन गरिएको थियो । केही कन्टेनरमा रासायनिक पदार्थ राखिएको हुनुपर्ने अनुमान गरिएको छ । चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करीब ४० किलोमिटर टाढा रहेको सीताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करीब ९ः३० बजे आगलागी भएको थियो।
घाइतमध्ये घेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। आगलागीमा ४० अग्निनियन्त्रक र १० प्रहरीअधिकारी घाइते भएका जनाइएको छ। यहाँका दर्जनौँ अग्निनियन्त्रक समूह आगो निभाउन लागि परेका बताइएको छ।
बंगलादेशमा प्राय: औद्योगिक क्षेत्रमा आगलागीका घटनाहरू दोहोरिरहने गर्दछ । यसका लागि नाजुक सुरक्षा व्यवस्थालाई दोष दिइने गरिएको छ ।
अधिकांश घाइतेको स्थिति चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने विश्वास गरिएको छ । अस्पतालहरू वरपर भिड लागेको छ भने सर्वसाधारणलाई रक्तदान गरेर सहयोग गर्न आह्वान गरिएको छ । त्यसपछि तत्कालै सयौँ अग्नि नियन्त्रक र प्रहरी घटनास्थल पुगेका थिए । आगो नियन्त्रण गर्ने क्रममा कम्तिमा पाँचजना अग्नि नियन्त्रकको पनि ज्यान गएको र अन्य थुप्रै घाइते भएका थिए । विष्फोटन हुनु अघि घटनास्थलबाट रिपोर्टिङ गरिरहेका पत्रकारलगायत अन्य धेरै व्यक्ति अझै हराइरहेको सुरक्षा सुत्रले जनाएको छ । त्यहाँ करिब चार हजारवटा कन्टेनर भण्डारण गरिएको बताइएको छ ।








