Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने भएको छ। सिड्नीको Auburn नजिक रहेको Grand Palace मा हुन लागिएको यो आध्यात्मिक कार्यक्रम धार्मिक, सांस्कृतिक तथा चेतना–विकासको दृष्टिले ऐतिहासिक हुने आयोजकहरूले जनाएका छन्। यस अवसरमा विश्वप्रसिद्ध वाचिका राधिकादासी जीले पहिलोपटक सिड्नीमा भव्य कथा–प्रवचन तथा सत्सङ्ग प्रस्तुत गर्ने तय गरिएको छ। कार्यक्रमका अध्यक्ष योगी नरहरिनाथ आदित्यनाथ Foundation

तथा आयोजक प्रतिनिधि नारायण शास्त्रीजीले यो महोत्सव सिड्नीवासी नेपाली तथा सम्पूर्ण हिन्दू समुदायका लागि अत्यन्त दुर्लभ अवसर भएको जानकारी दिएका छन्। साथै, कार्यक्रमलाई लिएर नेपाल–फिजी सद्भावना राजदूत, विश्वशान्ति अध्यात्म–विज्ञान समाजका परिकल्पनाकार तथा अन्तर्राष्ट्रिय प्रेरक, योग गुरु योगी आचार्य श्री राजन शर्मा, योगी Dr भोला नाथ योगी, सहितका विशिष्ट व्यक्तित्वहरूको विशेष सम्बोधन रहनेछ।
यसैक्रममा, आयोजकहरूले

पण्डित अनिल जी, पण्डित देहिमान्श जी, पण्डित प्रकाश गैरे, पण्डित के.पी. शर्मा, साथै रामचरितमानस ग्लोबल, पशुपति बौद्ध धाम, विश्व शान्ति आश्रम, राम–कृष्ण मन्दिर अष्ट्रेलिया लगायतका संस्थाहरू तथा उनका प्रतिनिधिहरूको समेत महत्वपूर्ण सहभागिता रहने जानकारी दिएका छन्। कार्यक्रम हाल प्रारम्भिक चरणमा रहेको र दिनानुदिन सहभागिता तथा सहयोगदाताहरू थपिँदै गएको आयोजक समितिले जनाएको छ।
उनहरूको अनुसार, यो महा–सत्सङ्ग केवल कथा–प्रवचनमा सीमित नभई योग, ध्यान, आत्म–जागरण, भक्ति–जागरण, चेतना–विकास तथा सामाजिक–धार्मिक ऐक्यबद्धताको एक ऐतिहासिक आध्यात्मिक उत्सव बन्नेछ। साथै, सेवा तथा समर्पणमा सहभागी हुन इच्छुक स्वयंसेवकहरूलाई विशेष स्वागत गरिने बताइएको छ। आयोजक समितिले सम्पूर्ण समुदायलाई यस ऐतिहासिक कार्यक्रममा सहभागी हुन, सेवा दिन र आध्यात्मिक लाभ लिन हार्दिक आह्वान गरेको छ। राधिकादासी जीको पहिलो सिड्नी आगमनले यो महोत्सवलाई अझ भव्य र स्मरणीय बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।










