युक्रेनको बाल अस्पतालमा बमबारी, जेलेन्स्कीले लगाए रुसमाथि नरसंहारको आरोप

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नरसंहारको आरोप लगाएका छन्। बुधबार युक्रेनको मारिउपोलस्थिल बाल अस्पतालमा भएको बम आक्रमणपछि जेलेन्स्कीले यस्तो बताएका हुन्।

बुधबारको यो आक्रमणको कारण अस्पतालमा रहेका बालबालिकाहरु भित्रै फसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

मारिउपोल सहर परिषद्का अनुसार अस्पतालमा धेरैपटक रुसले आक्रमण गरेको थियो। अमेरिकाले यो आक्रमणको निन्दा गरेको छ।

यो आक्रमण ‘निर्दोष नागरिकमाथि बर्बर सैन्य शक्तिको प्रयोग’ भएको अमेरिकाको ठहर छ।

रुसले सहरमा फसेका मानिसहरुलाई बाहिर जान दिन भन्दै युद्धविराम घोषणा गरेकै समयमा यो आक्रमण भएको हो।

मारिउपोल सहरका मानिसहरु एक साताभन्दा लामो समयदेखि पानी र विद्युत् अभावमा रहँदै आएका छन्।

बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै जेलेन्स्कीले अस्पतालहरु ध्वस्त पारेको भन्दै रुसको निन्दा गरेका छन्।

उनले पश्चिमा मुलुकमाथि रुसविरुद्ध प्रतिबन्ध अझै कडा गर्न पनि आह्वान गरेका छन्। यसले रुसलाई यो ‘बर्बर युद्ध अन्त्य गरी वार्तामा बस्न बाध्य पार्ने’ जेलेन्स्कीको विश्वास छ।

रुसले भने आम नागरिकलाई लक्षित गरी कुनै पनि आक्रमण नगरेको दाबी गरेको छ।

सम्बन्धित शिर्षकहरु