काठमाडौँ । दुई महिनापछि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ ।
वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको बैठकले आजदेखि जोर बिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
निर्णय बमोजिम आज उपत्यकामा बिजोर नम्बरका सवारी सञ्चालन भएसँगै चहलपहल केही बढेको छ । सीमित सवारीमात्र सञ्चालन हुँदा कार्यालय समयमा यातायातमा भीड भएको यात्रु रामकृष्ण बजगाइँले सुनाउनुभयो । सवारीमा भीड बढ्ने समयमा दूरी कायम गर्न नसकिने उहाँको भनाई छ । अर्को कुर्दा आधाभन्दा कममात्र सवारी गुडेकाले कतिखेर आउँछ भन्न गाह्रो हुने यात्रु बताउँछन् ।
निषेधाज्ञा जारी भएसँगै उपत्यकाबाहिर गएका यातायात मजदुरका कारण सबै यातायात भने चल्न सकेका छैनन् । सार्वजनिक यातायात खुलेसँगै दुई महिनादेखि घरमै बस्न बाध्य मानिस गन्तव्यमा निस्कन थालेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने २५ भन्दा धेरै सिट क्षमताका जोर बिजोर प्रणालीबाट सवारी चलाउँदा भीड बढेर कोरोना सङ्क्रमण बढ्ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ । दुई महिनादेखि यातायात सञ्चालन बन्द हुँदा सबै मजदुरलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या रहेको भन्दै महासङ्घले उपत्यका बाहिरका सवारी पनि खुलाउनुपर्ने माग गरेको हो ।
महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सोमबारको निर्णयले विभेद गरेको भन्दै यसलाई सच्याउन माग गरिएको बताउनुहुन्छ । विसं २०६९ देखि नै सार्वजनिक यातायातको भाडा नबढाइएकाले भाडा समायोजन गर्नसमेत महासङ्घले माग गर्दै आएको छ । डिजेलको भाउ रु ९५ हुँदा तोकिएको भाडा तेलको भाउ बढेर रु १०९ पुग्दासमेत समायोजन हुन नसकेकाले यससम्बन्धी गृहकार्य थाल्न आग्रह गरिएको उहाँले सुनाउनुभयो ।








