गीत – शब्द लहर, अँक ३२ – प्रविण टण्डन

 

               

 गीत

 

सम्झाउन सक्दिन म, सम्झिर’ने मन

आइरहने झल्कोलाई, कता पठाउँ भन

 

हात समाइ डाँडा कटे, तर्यौं कति खोला

भेटै म त कहाँ गर्थें, जाने यस्तो होला

सुसेलेर बोलाउँछ, भेट हुने वन

आइरहने झल्कोलाई, कता पठाउँ भन

 

मिल्न कति सजिलो थ्यो’, यति गार्हो छुट्टिन त

साँचो हो कि झुठो माया, पैलै’ पर्ने खुट्टिन त

निर्धा सार्है देखिनेले, पिर्दा रैछन् झन

आइरहने झल्कोलाई, कता पठाउँ भन

 

सोचेको थें अरुलाई नि, सुख साँचौं भन्ने

वैरीका ती आँखा अघि, हाँसी बाँचौं भन्ने

दु:ख माने आफ्नाले ती, हाँसे शत्रुजन

आइरहने झल्कोलाई, कता पठाउँ भन

 

उराठिन्छ मन कहिले, बगी जाउँ जस्तो

बोलाउन काल आउनभन्दा, अघि जाउँ जस्तो

देख्छु फेरि कर्महारा, अरु पनि छन्

आइरहने झल्कोलाई, कता पठाउँ भन

आइरहने झल्कोलाई, कता पठाउँ भन …

 ********************************************************************

  • प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

 

 

सम्बन्धित शिर्षकहरु