
भान्सा
पूजाकोठा पछिको पवित्र ठाउँ, जहाँ ‘पेटपूजा’ हुन्छ – “भान्सा”; घरको अति नै महत्वपूर्ण स्थान । बोलीचालीमा कसैकसैले ‘भान्छा’ भनेपनि कुरा एउटै हो – दुई छाकदेखि चौरासी व्यन्जनसम्मको विविधता पाइने ठाउँ । त्यसैले त होला, पहिले-पहिले बैठक कोठा सिंगारेर झकिझकाऊ बनाइन्थ्यो; अचेल विदेशतिर भान्साकोठा भव्य र आकर्षक देखाउने लहड चलेको छ भन्थे एकजना उतै बसेका साथीले ।
भान्साको कुरा निस्किसकेपछि अब त्यसका सदस्यहरूको चिनापर्चीतिर लागौं । अनिवार्य – भान्सा कार्यकारिणी समितिको अध्यक्ष दाउरा/अगेना, जुन कतै समयक्रममा रूपान्तरित हुँदै मट्टितेल/स्टोभ र ग्यास/चुल्हो पनि बन्नपुगेका छन् । त्यसपछि मर्यादाक्रमले अति वरिष्ठ खान्की अनुसार चामल वा पीठो, वरिष्ठ सदस्य तिहुन/तरकारी, दाल । अचारलाई त सामान्य सदस्य मान्दा हुन्छ । काम के वा कस्तो गर्ने भन्दा पनि पदको कुरा पनि निकै महत्वको हुँदोरहेछ कसैका लागि । त्यसपछि छुटाउनै नहुने एउटा छुट्टै वृहद् विभाग छ “भाँडाकुँडा” सम्बन्धी ।
यस विभाग सम्बन्धी कथा भन्दै गयो भने त उपन्यास नै तयार होला, अहिलेलाई छोटकरी नै गरौं । अनगिन्ती साधारण सदस्य रहेको यो विभागबिना भान्सा अपुरो छ । सरकारमा रहेकालाई प्रतिपक्षले “‘डाडु-पन्यु’ आफ्नै हातमा भएकोले मनपरी गरे” भनेर विरोध गर्नु होस् वा सरकारवालाले प्रतिपक्षलाई “आफ्ना ‘चम्चा’हरू पठाएर हाम्रो बदनाम गराए” भनी आक्षेप लगाउनु; यी सबै उहीं भाँडाकुँडा विभागकै सौजन्य हुन् ।
यो विभाग सदस्यहरूको काम, कर्तव्य र अधिकारमा विविधता भएझैं नाममा पनि एकरूपता पाइँदैन । कुनै ठेट नेपाली नाम छन्- जस्तै नामबाटै ठूलो फैलावटको छनक दिने “थाल”, वा सुन्दै सानो लाग्ने “बटुको” । केही नाम चाहिं बेलायततिरबाट घुम्दै आएपनि भन्सारमा आएर नेपालीकृत भएका Glass “गिलास”, Cooker “कुक्कर” आदि छन् । कुक्करको प्रसगँमा भन्नैपर्ने कुरा चाहिं यो अहिलेको ‘स्मार्ट डिभाइस’को चलन आउनुभन्दा धेरै अघिको ‘तीक्ष्ण’ भाँडा पो हो । अरू भाँडालाई त खाना पाकोस् कि डढोस् केही मतलबै छैन, गैरजिम्मेवार ! प्यारो कुक्कर हेर्नुस् त, भुइँतलामा बसालेर बार्दलीमा पुगेपनि खाना बिग्रेला कि भनेर सिठ्ठी फुकी-फुकी बोलाउँछ, कतिजानेको ! नत्र त सिठ्ठी फुक्न कि ट्राफिक प्रहरी बन्न सक्नपर्यो, कि फुटबलको रेफ्री । त्यै’ भान्से अलि अल्छी परेर राम्रोसँग नमाझे वा सिकारू भएर पानीको मात्रा नमिले बोलाउन खोज्दाखोज्दै भावुक भएर रूनथाल्नेरहेछ, विचरा ।
भान्सामा प्रेम हुन्छ, द्वन्द पनि हुन्छ । घरको वातावरण कस्तो छ त्यसैले बताइरहेको हुन्छ । “के हो.. आजभोलि मीठो पकाउन जान्नुभा’ छ नि तपाईंले पनि” मात्र हैन; “हैन कै’ले दालमा धेरै नुन, कै’ले भातमा घुनैघुन, ह्या खान्न म त” पनि यहीं सुनिन्छ । तर ‘दूध फाटे दही, मन फाटे कहीं न कहीं’ भनेजस्तो, नुन चर्को भए त पानी थपेर मिलाउन सकिएला; तर रूखो/चर्को बोली सुनेर मन दु:खे सान्त्वना दिलाउन गाह्रै हुनेरहेछ । त्यसैले धेरैकुरा मिलेको खानेकुरामा खोट निकालेर चोट पुर्याउने कि, भएको असल चीजको बखान गरेर खान बस्ने; रोजाइ आफ्नै ।
हुन त खाना कस्तो छ भन्दापनि कुन मनस्थितिमा पाकेको वा चाखेको हो महत्वपूर्ण हुन्छ ‘रे । “तिमीले त जे पकाए पनि खाउँ-खाउँ लाग्छ” भन्ने मनोवृत्ति भएको भान्सा नै सुखी घरको परिचायक होला शायद । यहीं सोच्दासोच्दै भान्साको उही बफादार सदस्यले छैठौं चोटि बोलाइसकेछ ।।।
**********************************************************************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com






