चलायमान स्तुतिगान 
स्तुति बिभिन्न कारणले गरिंदोरहेछ – कोही रिसाएकालाई खुसी बनाउन, कोही खुसी नै रहिरहुन्, नरिसाउन् भनेर । फेरि ‘स्तुति पनि स्थिर र चलायमान हुन्छ र’ भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो । तर बेलीविस्तार लगाउँदै गर्दा कुरा खुल्दै जाला ।
——————————————————
आज मेरो प्यारो, सानो साथीको जन्मदिन; बिहानै उठेर सुम्सुम्याएँ, र बधाई पनि दिएँ । हुन त ‘जन्मदिन’ अलि भन्न नमिल्ला; ‘ग्रहणदिन’ भन्दा ठीक हुने हो कि? आजकै सुनौलो दिन थियो – घरखर्च, पढाइखर्च, विविध खर्च; अनि १०% बेरूजु खर्चका वावजुद जम्मा पारेर राखेको रकम खनखनी गनेर नयाँ “चलायमान यन्त्र” (मोबाइल) खरीद गरेर ल्याएको । अनि त्यहीं सिलसिलामा सोझै मनले आफूले चलाइराखेको मोबाइल घरकी प्यारीलाई दिंदा थोत्रो सामान दिएको भनेर तीन घण्टा नबोलेकी! पछि अनेक यत्न गरेर फकाउनपरेको थियो ।
—————–
मोबाइल/एल.जी/आइफोन/फोन आदि विविध नामले बोलाइने भएपनि समग्रमा यसलाई दुरसन्चारको कान्छो सन्तान मान्न सकिन्छ । एकचोटि घरमा छामछुम गर्दा कतै नभेटेपछि भर्खरै आएको अतिथिले सामसुम पारेछ कि भनेर दाजीले “मेरो सामसुँग देख्यौ नानु” भनी मामसँग बुबु खाइरहेकी बुनुलाई सोध्दा “मामुसँग छ” भनेपछि लामो सास फेरेका थिए ।
—————-
हुनपनि सानो भएकोले चलाउन सजिलो हुने भएपनि कता, कुनबेला बेपत्ता हुने हो भन्ने डर भइरहने रहेछ । आज एकमा टेकेको मेरो मोबाइल पनि मैले यसको पूर्ववर्तीलाई बडो दु:खका साथ गुमाएपछि ल्याएको । राती ११:०० बजेको काम सकेर ट्रेनमा हामी (म र मेरो उही) फर्कँदैथ्यौं । कामले अलि थाकेको हुँदा झुपुक्क भएछु । गाइँगुइँ हल्लाले उठेको त झर्नुपर्ने स्टेशनबाट हिंड्न ट्रेनले खुट्टा उचालिसकेको रहेछ । एक हातले झोला समातेर युसेन बोल्टकै गतिमा सफलतापूर्वक प्ल्याटफर्ममा ओर्लिएँ । खल्ती छाम्दा पो रित्तै! मोबाइल त मलाई छोडेर आफू एक्लै ट्रेनयात्रामा लागेछ ।
——————
त्यस्तै भएर होला- एकजना मित्रले आफ्नो ‘टमी’ कुकुरलाई बाँध्ने जस्तै सिक्रीले बाँधेर आइफोनलाई खल्तीमा राख्ने गरेका- हराउँदा त झण्डै सर्वस्वहरण नै गराउने भएकोले ।
—————–
तर जस्तै भएपनि यसको महिमा बयान गरीसाध्य चाहिं छैन । पहिले यसका नालनाताले गर्ने सारा काम एक्लै गर्न भ्याएको छ – क्यामेरा, क्याल्कुलेटर, नोटबुक, के-के मात्र गर्न सक्दैन? आफ्नो मूल पेशा- टेलिफोन त छँदैछ । भगवानले आफ्नो वास्तविक स्वरूपको दर्शन गराउँदा
भक्त कृतकृत्य भएझैं हरेक व्यक्ति मोबाइलको विलक्षण कार्यकुशलता देखेर नतमस्तक बन्न पुग्छ । जहाँ जाँदा पनि, जे गर्दा पनि साथै हुने, शरीरमै टाँसिएजस्तो । त्यसैले होला शरीरविज्ञानमा मानिसको हाडको सँख्या २०९ भनी पढाइँदै आएकोमा अब मोबाइललाई पनि जोडेर आधिकारिक रूपमै २१० बनाउनपर्छ भनेर घनीभूत बहस पनि हुँदै आएको रहेछ ।
————————————————————
ठीकै छ – शरीरविज्ञानमा कुरा उनै विज्ञलाई छाडिदिऊँ – म चाहिं प्यारीको जन्मदिनमा नयाँ मोबाइल उपहार दिएर गृहविज्ञान मिलाउनपर्ला भन्ने सोचमा छु । विचरीले पनि त अस्ति मलाई नयाँ घडी किनिदिएकी थिइ । पैसा/महँगा उपहारले मात्र माया देखिने वा बढ्ने त हैन, निःस्वार्थ भाव र समर्पणले हुने हो । त्यहीं सोच्दासोच्दै चलायमान यन्त्रमा घण्टी बज्यो- प्यारीले कामबाट सम्झिछिन् जस्तो छ …
**************************************************************************
– प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com








