पश्चिम घुमेर फर्कियो ‘भरियाको भूगोल ‘

काठमाडौं, बैशाख २५  कवि/गीतकार दिनेश अधिकारीको नयाँ कृति ‘भरियाको भूगोल‘  ले मुलुकका विभिन्न पश्चिमी सहरको काव्ययात्रा सम्पन्न गरेको छ। बैशाख १७ गते हेटौंडाबाट शुरु भएको पुस्तक यात्रा १८ गते चितवनको रत्ननगर टाँडी, नारायणगढ, कावासोती हुँदै अगाडि बढेको थियो। यात्रा प्रकाशन संस्था नेपालयको समायोजनमा भएको हो।

हेटौंडामा अधिकारीको लेखन र पुस्तकमाथि कवि निमेस निखिल, घनश्याम घिमिरे, बच्चुराम अधिकारी र नीरा शर्माले आफ्ना धारणा व्यक्त गरेका थिए। निखिलले कवि तथा गीतकार दिनेश अधिकारी समाजप्रति उत्तरदायी सर्जक भएको बताए । हेटौंडा क्याम्पसभित्र आयोजित कार्यक्रममा स्थानीय प्रबुद्ध व्यक्तित्वहरू र कलेजका विद्यार्थीको उपस्थिति थियो । १८ गते बिहान रत्ननगर टाँडीमा श्रष्टा अधिकारीबारे बोल्न र सुन्न चितवनका सृजनशील व्यक्तित्वहरूको घना उपस्थिति थियो । गजलकार तथा शिक्षासेवी धनराज गिरीले संचालन गरेको कार्यक्रममा संगीतकार/कवि आभासले दिनेश अधिकारीको काव्यमा रहेको गीति सौर्न्दर्य बारे चर्चा गरेका थिए। शिक्षासेवी उदय अधिकारीले कविहरू सामाजिक र राजनीतिक सोचबाट अप्रभावित रहन नसक्ने धारणा व्यक्त गरे। कार्यक्रममा चितवनका प्रतिभाशाली कवि भूपिनले ‘भरियाको भूगोल‘ काव्यमाथि विवेचनात्मक चर्चा गरेका थिए। अधिकारी बिम्ब निर्माणमा मौलिकता पहिल्याउने कवि  भएको धारणा भूपिनको थियो। कार्यक्रममा चेतराज रेग्मी, सुरेन्द्र अस्तफल, एलबी क्षेत्री र केदारनाथ खनालले पनि धारणा राखेका थिए। कार्यक्रम बाल्मिकी साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेको सभापतित्वमा भएको थियो। 

त्यसैदिन दिउँसो कावासोती पुगेको पुस्तक यात्रामा स्थानीय साहित्यप्रेमीहरूको उत्साहजनक उपस्थिति थियो। कार्यक्रममा कवि दिनेश अधिकारीले आफ्नो कविता कर्म सृजनाप्रतिको अनवरत प्रेमको परिणाम भएको धारणा राख्दै झण्डै ४५ मिनेट कविता वाचन गरेका थिए।‘भरियाको भूगोल‘माथि १९ गते पाल्पामा विमर्श भएको थियो। नेपालकै ऐतिहासिक धवल पुस्तकालयमा आयोजना गरिएको कार्यक्रमको सभापतित्व स्वयं पुस्तकालयका अध्यक्ष युवराज पौड्यालले गरेका थिए। पाल्पाका प्रबुद्ध व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कवि दिनेशले एक दर्जनजति कविता वाचन गरेका थिए। राजेशकुमार अर्यालले संचालनगरेको कार्यक्रमको अन्त्यमा उपस्थित व्यक्तित्वहरूले आफ्ना रचनामाथि राखेको जिज्ञासाको कविले जवाफ दिएका थिए।

‘भरियाको भूगोल‘ लिएर पुस्तक यात्रामा निस्केको टोली त्यसै दिन वालिङ पुगेको थियो। बाल विद्या विकास स्कुलको प्राङ्गणमा सम्पन्न कार्यक्रमलाई लोक संस्कृतिका अनुसन्धाता तुलसी प्रभासले संचालन गरेका थिए। शिक्षासेवी एलपी जवारचनको निर्देशनमा सम्पन्न सो कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी लगायत ठूलो संख्यामा स्थानीय साहित्यप्रेमीको उपस्थिति थियो। पुस्तक यात्रा २० गते कुस्मा पुगेको थियो। स्थानीय संस्थाहरू प्याप्सन पर्वत, र्‍याण्डम रिडर्स सोसाइटी पर्वत र पर्वत साहित्य संगमले आयोजना गरेको कार्यक्रमलाई हिमबहादुर पौडेल क्षेत्रीले संयोजन गरेका थिए। विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कवि दिनेश अधिकारीको कविता वाचनबाट उपस्थित सबै प्रभावित भएका थिए। सोही दिन साँझ पुस्तक यात्रा टोलीले बागलुङमा कार्यक्रम सम्पन्नगरेको थियो । बागलुङ जेसिसले आयोजनागरेको कार्यक्रमलाई जोन बज्राचार्यले सभापतित्व गरेका थिए। कार्यक्रममा बागलुङका काजी रोशन, प्रेम छोटालगायत मुलुकले चिनेका प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरूको उपस्थिति थियो।

…

सम्बन्धित शिर्षकहरु