प्रेरणात्मक “मुक्त्तकहरु “~अनिता यात्री

~Anita Yatri

“मुक्त्तक ”

1)

ऎना बिना नै आफ्नो अनुहार हेर्न सक्ने बन्नुपर्छ
अन्ध-विश्वासको चस्मा अब फेर्न सक्ने बन्नुपर्छ
अनेकौं जात,धर्मको कु-प्रथा जस्ले चलाए पनि
विभेदकारी यी विधि-विधान केर्न सक्ने बन्नुपर्छ ।

2)

केवल अरुलाई अब्जस दिने हैन आफुले पनि लिन सिकौं
सुख हुँदा मात्रै हैन मित्रहरु दु:ख पर्दा पनि सम्झिन सिकौं
समय त न हिजो हाम्रो वसमा थियो न त भोलि नै रहनेछ
जीवन एकदमै महत्त्वपूर्ण छ वर्तमानलाई पक्डिन सिकौं ।

3)

पोखिएका मेरा खुसीहरु उठाएर आएँ
भरोषाको सामल तुमल जुटाएर आएँ
समर्पण भावको दीप जगाएर मनमा
आनंदको ज्वार भाटा फुटाएर आएँ ।

4)

प्रत्येक दिन घाम झुल्कन्छ र डुब्छ सबैलाई थाहा छ
हिंड्ने व्यक्ति नै संधै लड्छ र उठ्छ सबैलाई थाहा छ
जिन्दगी यात्रा न हो सबैको आ-आफ्नै गन्तव्य हुन्छ
कोही समयसंगै दौडन्छ कोही छुट्छ सबैलाई थाहा छ ।

5)

बाहिर मुखले जे बोलिन्छ तेस्तै सोच भित्र हुनुपर्छ
कर्म गरेपछि व्यवहार र उद्देश्य पनि पवित्र हुनुपर्छ
भिन्न भिन्न छन् प्रकृति यहाँ भिन्न छन् दुनियाँ सारा
तर हृदयमा सम-भाव झल्काउने उस्तै चित्र हुनुपर्छ ।

6)

अब जन्मने सन्तानहरुलाई बुद्ध बनाएर पठाउँनु
दिनानुदिन मान्छे मुर्ख भए ज्ञानी बनाएर पठाउँनु
योग,ध्यान,प्रणायमको सुत्रधारमा बाँधेर सबैलाई
इतिहासकै असल,योग्य मानिस बनाएर पठाउँनु ।

सम्बन्धित शिर्षकहरु