संक्रमणको डरमा छैनन् नागरिक !-ज्योति जि.सी.

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउन (बन्दाबन्दी) घोषणा गरेको आज (वैशाख १५ गते) ३४ दिन पूरा भएको छ ।

सरकारले पछिल्लोपटक लकडाउन अवधि १० दिनको लागि थप गरेको छ त्यसभन्दा अघिको लकडाउन पछिल्लो समय फितलो देखिदै आएको छ । त्यसपछि सरकारले कस्तो कदम चाल्ने हो यसबारे विभिन्न अड्कलबाजी र विश्लेषणहरू भइरहेका छन ।

सरकारले जस्तोसुकै कदम चालोस् । तर, एक महीनादेखि रोग, भोक र अभावको चिन्ता झेलेर घरभित्रै थुनिएका धेरैजसो उपत्यकावासीले भने सरकारको घोषणालाई उल्लंघन गर्दै गाउँ–गाउँमा पुगिसकेका छन् ।

-ज्योति जि.सी.

दिउँसो होस् या राती सुनसान प्रायः हुने उपत्यकाका नाकाहरू केही दिनयता साँझ परेपछि भरिभराउ यात्रुवाहक बसको लावालस्करले ढाकिएको देखिन थालेका छन् । सँगसँगै काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म गाउँ जान चाहने यात्रुको भीडभाड थेगीनसक्नु छ । यस्तै भीड छ, काठमाडौंका अरु धेरै ठाउँहरूमा पनि ।

सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै महीना दिनसम्म घरभित्र बसेका नागरिकहरू प्राणघातक महामारी संक्रमणको कुनै परवाह नगरी एक्कासी सडकमा उर्लिएका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरसको संक्रमण संसारको शक्तिशाली र स्रोतसाधनसम्पन्न देशहरूको काबुबाहिर पुगेको छ ।

दैनिक हजारौँ मानिसको ज्यान लिईरहेको कोरोना भाइरसबाट जोगिने एउटै र भरपर्दो उपाय भनेकै एकान्तवास हो । जहाँ आफू घरबाहिर ननिस्कने, अरुलाई पनि घरभित्र नभित्र्याउने अर्थात् कसैसँग भेटघाट वा नजिक नजाने नै हो ।

विश्व स्वास्थ्य संगठनले उर्दी गरेको मुख्य उपाय पनि यही हो । र, संसारका मानिस यही कुरा अवलम्बन गरेर कोरोनाविरुद्धको लडाइंमा एकीकृत भएका छन् । संसारका आधाजसो देश यतिबेला पूर्ण वा आंशिक लकडाउनमा छ ।

यस्तो बेलामा हामी भने भिडमभीड, ठेलमठेल गरेर सार्वजनिक यातायात प्रयोग गरी घन्टौँको यात्रा गर्न बाध्य भएका छौँ । यात्रा त गर्यौँ–गर्यौँ, तर कोरोनाबाट जोगिन न हाम्रो हातमा पन्जा छ, न मुखमा मास्क, न त खल्तीमा स्यानिटाइजरका बट्टाहरू नै ।

अझ हजारौँले पकडेका बसका डन्डीहरू समातेका हातले चिउरा र दालमोठहरू मुखभित्र हालिरहेका छौँ, के थाहा त्यही चिउरा र दालमोठहरूसँगै कोरोना भाइरसको किटाणु पो फोक्सोमा प्रवेश गर्यो कि !

कलिला नानीबाबुहरूको गाला त्यही हातले मुसार्दै रुनबाट जोगाउँदैछौँ, भीडभाड र असुरक्षित यात्राले कतै ति निर्दोष बालबच्चाहरूलाई संक्रमणको शिकार त बनाउँदै छैनौँ ? यी र यस्ता विषय सरकारले भन्दा पहिल्यै हामी नागरिकले केलाउनु उचित हुन्छ ।

नागरिकका आफ्नै बाध्यता छन् । यतिबेला उनीहरूको भान्सामा चामल, दाल, तेल र नुनलगायत आधारभुत खाद्य सामग्री सकिएको छ ।

खल्तीमा भएका पैसा रित्तिएका छन्, डेराको भाडा तिर्न डबल महीना बाँकी हुने बेला भयो, थोरबहुत बचत भएका सहकारीहरू खुलेका छैनन्, बैंकहरूसम्म जान नागरिक प्रहरीखेखि डराएका छन्, कसैको कुनै कुरै नसुनी भाटा हान्ने र जबरजस्ती क्वारेन्टाइनमा लैजाने सत्य÷असत्य समाचारहरूले उनीहरूको मन अमिलो भएको छ ।

सरकार र निजी क्षेत्रहरूले राहत वितरण पनि थालेका छन् । तर, भान्सा रित्तिनेको भन्दा भान्सा भरिभराउ भएकाहरूकै पहुँच त्यो राहतमा छ । नीजि क्षेत्रले त झन् कहाँ आफ्ना आफन्त वा चिनजानका छन् त्यतै लगेर मनलाग्दी बाँडिदिन्छन्, राहत वितरण सही ढंगले नहुँदा पाउनेले पाएको पायै, नपाउनेले नपाएको नपायै ।

यसको दृष्टान्त केहिदिनअघि सार्वजनिक कीर्तिपुरको घटना पनि हो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत विद्यार्थी हेमराज थापाले विभिन्न व्यक्ति, सञ्चारमाध्यम र संघसंस्थासँग बनावटी पीडा व्यक्त गर्दै २१ बोरा चामल र ६ बोरा दाललगायत अन्य खाद्य सामग्री थुपारेको प्रहरीले भेटेको थियो ।

यि र यस्तै घट्ना परिघटनाका कारण मानिसहरू उपत्यका छोडी गाउँ जाने सोचमा पुगे । उनीहरूलाई के लाग्यो भने, गाउँ पुगियो भने कसले कतिबेला राहत दिन्छ र खाउँला भन्ने आशा गर्नुपर्ने छैन ।

खेतबारीहरू बाँझै छन् लामै समय लकडाउन भएछ भने पनि उतै खेतीपाती गरौँला, पेट पालौँला । एक गिलास पानीको धरी पैसा तिर्नुपर्ने शहरमा बसेर सरकारको अभियानमा साथ दिन सकिदैन भन्ने निष्कर्षका साथ उनीहरू गाउँ जाने मनस्थितिमा पुगेका हुन् । यसलाई सकरात्मक रूपमा लिन पनि सकिन्छ ।

त्यसोभए जनताको यो मर्मस्पर्शी भावनाको कदर गर्न सरकारले किन सकेन त ? के समस्या आईलाग्यो सरकारलाई ? र असुरक्षित तवरबाट जनता गाउँ फर्किरहँदा मौन समर्थन जनाईरहेको छ ? यसको जवाफ पनि ‘जनता’ नै हो ।

सरकारले जनताको यो भावना पहिले पनि बुझेको थियो । दुई दिन गाउँ जान दिनेगरी निर्णय पनि गर्यो । तर, जनाताले लकडाउनको अवधि कति होला, भइपरी आउने समस्या के–के होलान् र समाधानहरू के हुनसक्छन् भनेर दीर्घसोच बनाउन सकेनन् बरु निर्णयको तत्काल घोर विरोध भयो ।

अनि आफ्नै निर्णय फिर्ता गर्न सरकार बाध्य भयो, त्यो पनि जनभावनाकै कदर थियो ! प्रश्न सरकारमाथि पनि उठ्छ, आफ्नो निर्णयमा क्षणभर पनि आफैं नटिक्ने, समग्र वस्तुस्थितिको विश्लेषण र आँकलन नगरी निर्णय प्रक्रियामा सहभागी हुने, अनि जनताको भावनासँग खेल्ने ?
आज जो–जो मानिसहरू गाउँघर फर्किरहेका छन् तिनिहरूलाई वैधानिक तवरबाटै व्यवस्थापन गरेर पठाउन सकिएको भए जनसुरक्षा प्रभावकारी हुने थियो ।

प्रत्येक आधा–आधा घन्टामा साबुनपानीले मिचि मिचि हात धुने, सामाजिक दुरी कायम गर्नुपर्ने, आपसी भेटघाट, अंकमाल र हात मिलाउनेजस्ता क्रियाकलापबाट टाढा रहने बेलामा अभावको वाहना देखाउँदै रोगलाई खुलेआम चुनौती दिन बाध्य हुनु हामी कसैका लागि पनि प्रिय विषय बन्न सक्तैन ।

बरु सरकारले वैधानिक निर्णय गरेर, निश्चित विधि र प्रक्रिया अपनाई सुरक्षा निकायको चुस्त व्यवस्थापनामा यो काम गर्न सकेको भए सबैको भलाई हुने थियो । जनस्तरबाटै व्यवस्थापन भएका ‘घर जाने कार्यक्रम’लाई प्रहरीको खासै सहयोग देखिदैन । उनीहरूले चाहेको भए कम्तिमा भीड व्यवस्थापन गर्न सक्थे । त्यसो हुँदा सम्भावित जोखिम कम हुन्थ्यो । यो सरकार र हामी नागरिक सबैको दायित्व पनि हो ।

यता एक महीनासम्म सेल्फ क्वारेन्टाइनमा बसेका नागरिकको एकपटक पनि स्वास्थ्य जाँच भएको छैन । न बस चढ्ने बेलामा, न ओर्लने बेलामा, न घर छिर्ने बेलामा । यदाकदाबाहेक धेरै ठाउँमा जाँच गरिएको छैन । यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ हामी सबै सजग र सतर्क हुनुपर्दछ । यसरी निर्वाध गाउँ पुगेकामध्ये कोही न कोही कोरोनाको बिउ बोकेर आफ्नो गाउँहरूमा पो पुगे कि ! त्यसतर्फ पनि चनाखो हुनुपर्दछ ।

मानिसहरू जसोतसो गाउँ फर्किएपछि काठमाडौंलाई केही हलुका महसुश भएको होला । तर, गाउँ–गाउँमा महामारी फैलियो भने देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । यसतर्फ बेलैमा सबैको ध्यानाकृष्ट होस् । सँगसँगै संघीय सरकारको केही बोझ स्थानीय सरकारलाई थपिएको छ ।

तपाईं जनप्रतिनिधिहरूको उर्जावान र ऐतिहासिक क्षमता नाप्ने मानक पनि कोरोनाको यो महामारी बन्न सक्छ, त्यसैले गाउँ फर्किएकालाई आवश्यक स्वास्थ्य जाँचको प्रबन्ध गरी स्वस्थ ठहरिएकालाई त्यत्तिकै घरमा बस्न नदिउँ, उत्पादनतिर जोडि दिउँ !

गाउँ फर्किएका सबै मानिसको सुरक्षा र व्यवस्थापनको जिम्मा गाउँपालिकाको काँधमा पुगेको छ । आवश्यकताअनुसार सामूहिक र होम क्वारेन्टाइनमा राख्ने व्यवस्था चुस्त बनाउन जरुरी छ । लकडाउन उल्लंघन गर्दै आएका त हुन् नि भनेर नजरअन्दाज गरियो भने त्यसले भोलिका दिनमा ठूलो क्षति गर्न सक्छ ।

सम्बन्धित शिर्षकहरु