सिद्धबाबा र यौन दुराचार प्रकरण !

– कौशिक शर्मा

महायोगी सिद्धबाबाका नामले विख्यात जगदगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराजलाई केन्द्रित गरी विगत केही समय देखि सञ्चार जगतका केही अनलाइन्, फेसबुक्, टेलिभिजन र छापाहरुमा छरपस्ट गरिएका समाचार, लेख, टिप्पणी आदिलाई विचारगर्दा कवि राममानको “बौलाहाको हातमा बन्दुक” कविता संग्रहको स्मरण भइरहेछ ।

आम मानिसलाई सुसूचित गराउने महत्वपूर्ण जिमेवारीमा रहेको क्षेत्रले घटना र पात्रलाई पर्गेलेर प्रस्तुत हुनुको सट्टा ‘असनको चोकमा, भोक लागेको झोकमा, मकै पनि भातै हो’ भन्ने संरचना र शैलीमा बगिदिँदा श्रोता-दर्शक-पाठकमा उत्पन्न हुने अतिरञ्जित भाव र त्यसले उराल्ने नकारात्मक प्रभावको दुष्परिणाम तर्फ किन्चित पनि ध्यान दिएकोे देखिएन ।

सामान्य ठट्टा/मजाक्को स्वरमा “हो हो ” को कोरस गाउनु त स्वीकार्य होला तर जीवन र दर्शनका हकमा भने त्यस्तो शैलीले पुर्याउने नोक्सानको लेखाजोखा कदापि हुन नसक्ने भएकोले ती सर्वथा अस्वीकार्य हुन्छन् ।

विद्या वा ज्ञानको परम्परा र अनुशीलन सँग वर्तमानको हाम्रो समाज धेरै टाढा रहेको हुँदा उनीहरुका लागि फक्कड्, जोगी र परमहंस अवस्थाका योगीमा कुनै भेद हुँदैन । भोगको जीवन दर्शनलाई अँगालेर आपातरमण गर्नेहरुले योगको अनुशासनलाई बुझ्न सक्दैनन् ।

त्यस्ताका लागि सन्यास, ब्रह्मचर्य जस्ता शब्दहरु र तिनले वहन गर्ने अर्थमा न सार् हुन्छ, न भार् । भोगलिप्साका कारण उनिहरुको अभिष्ट एउटै मात्र हुन्छ –’नगद नारायण’ र मन्त्र हुन्छ –’जसो गरी हुन्छ धनै कमाऊ’ ।

यसैको परिधी भित्रका केही भोगातुर मानिसमा रहेको प्रवृत्ति र अभिष्टले सखारै चलाउने हल्ला र कथित आरोपको कडिमा जोडिन पुगेको एउटा मिथ्याकोपको रुपमा देखिन्छ –’सिद्धबाबा र यौन दुराचार’ को प्रसङ्ग ।

वास्तवमा, प्रचारित शिर्षक भित्रका शब्दहरुलाई व्यास गर्ने हो भने त्यहाँ बाट

१. सिद्ध,

२. बाबा,

३. यौन

४. दुराचार

गरी भिन्न अर्थ बहन गर्ने चारवटा शब्द निस्कन्छन् ।

‘सिद्ध’ शब्दले योग, मन्त्र आदिमा सिद्धि प्राप्त पुरुष-योगी वा तपस्याद्धारा चिताएको कुरा जान्न वा पुर्‍याउन सक्ने व्यक्ति भन्ने बुझाउँछ भने ‘बाबा’ शब्द स्नेह र आदरका लागि प्रयोग गरिन्छ ।

त्यस्तै ‘यौन’ शब्दले योनी/विवाह सम्बन्धी अर्थ राख्छ भने ‘दुराचार’ ले खराब आचार गर्ने भन्ने बुझाउँछ । यसरी यी सबै शब्दले बहन गर्ने अर्थका दृष्टिबाट ‘सिद्धबाबा’ र ‘यौन दुराचार’ परस्पर विपरित र असङ्गत सिद्ध हुन्छ ।

सिद्धबाबाको खास परिचय “महायोगी” हो । योग दर्शनमा योग लाई मुख्यतः चार प्रकारमा विभाजन गरिएको छ–

१. हठ योग

२. लय योग

३. मन्त्र योग र

४. राजयोग ।

यी चारै प्रकारका योग, साधक स्वयंको अभ्यासमा आधारित छन् । यी चार प्रकारका योग बाहेक साधकको समर्पणमात्रमा सिद्धपुरुषको कृपाबाट हुने अर्को एउटा योग छ जसलाई ‘महायोग’ भनिन्छ ।

यो महायोग कुनै योग सिद्ध पुरुषले शक्तिपातद्धारा व्यक्तिमा निहित शक्ति जागृत गराइदिँदा स्वतः हुन जान्छ । योगदर्शनमा यसलाई –“ततो महायोगसिद्धिः” अर्थात् शक्ति जागृत भइसकेपछि महायोग सिद्ध हुन्छ, भनिएको छ ।

यो महायोगमा मन्त्र, लय, हठ र राज गरी चारवटै योग स्वतः अन्तर्भूत भएको हुन्छ । यो योगको विशेषता भनेकै ‘शक्तिको उद्बोधन हो । त्यसैले योगदर्शन १.१५ मा यसलाई “महान” भनिएको छ –

महान किं ? विशेषत्वाच्छक्तुबोधने तत्सिद्धेः ।

कुर्म पुराणमा भगवान् आशुतोषले योगलाई अभाव योग र महायोग भनि दुई वर्गमा विभाजन गरेर महयोगलाई योग मध्येको सर्वोत्तम योग भन्नुभएको छ । यस्तो यो महायोग झण्डै ४०० वर्ष देखि विकिर्ण अवस्थामा रहेको थियो जसलाई सिद्धबाबाले आफ्नो तपोबलबाट साङ्गोपाङ्ग रुपमा प्राप्त गर्नु भइ समाधि अवस्था प्राप्त गर्नु भयो र यो समाधि अवस्थालाई पटक पटक सार्वजनिक पनि गरिदिनु भएको छ ।

उहाँले वर्ण, जात, लिङ्ग, देश आदि सँग निरपेक्ष रही दूर्लभ मानव जीवनको सार्थकताका लागि हरेक व्यक्तिलाई “भित्र पसेर हेर, माथि उठेर सोच” भन्ने आव्हानका साथ “जन्जन्मा महायोग” सञ्चालन गरिरहनु भएको पाइन्छ ।

यस क्रममा उहाँले आफ्नो संकल्प वा दृष्टि वा स्पर्श मध्ये कुनै एक उपाय अवलम्बन गरी आफू संसारको कुनै एक कुनामा रहेर संसारको कुनै अर्को कुनामा रहेको मानिसमा शक्तिपात गरी “महायोग” घटित गराइदिनु हुन्छ । त्यसैले उहाँ योगी मात्र नभएर सिद्ध महायोगी हुनुहुन्छ ।

परम्परागत प्राकृतिक चिकित्सा विज्ञान (नाडी विज्ञान) मा निष्णात उहाँबाट असाध्य ठानिएका रोगको उपचार प्राप्त गरी थुप्रै मानिसहरु आज स्वस्थ र सहज जीवन यापन गरिरहेका भेटिन्छन् । उहाँको व्यक्तित्वको अर्को खास पाटो प्राकृतिक चिकित्सा पद्धतिमा विशारद पनि हो ।

भारतमा प्राप्त आफ्नो उच्च स्थान, मानलाई त्यागेर राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र संस्कृतिका लागि आफ्नो जन्मभूमि नेपाल आएर बराहक्षेत्र धाममा ज.गु. रामानन्दाचार्य सेवा पीठको स्थापना गरी उक्त धामको महिमा अभिवृद्धिका लागि पीठ परिशरमा आफ्ना शिष्य, भक्तहरुको सहयोगबाट निर्माण गरिएको सूविधायुक्त १३६ कोठाको धर्मशालाका साथै यज्ञशाला,

पाकशाला, पाठशाला, गौशाला, ध्वनन्तरी बाटिका आदिको सञ्चालनले वराहक्षेत्र धामको विकासमा अभूतपूर्व आधारशीला खडा हुन गएको पाइन्छ भने ५ ‘स’ अर्थात् शिक्षा, स्वास्थ्य, संस्कार, समृद्धि र शान्ति का लागि ‘हरित अभियान’ को उद्घोषले बस्तुको निर्यात र धार्मिक पर्यटनको अभिवृद्धिबाट मुलुकको अर्थतन्त्रमा दिगो र भरपर्दो आधार प्रदान गर्ने देखिन्छ । राष्ट्र र राष्ट्रियता प्रतिको उहाँको यो दुरगामी र महत्वपूर्ण कार्यले उहाँ राष्ट्रिय सम्मानको व्यक्तित्वको रुपमा देखिनुहुन्छ ।

यस धरतिमा ७०५ वर्ष पछि र नेपालमा पहिलो पटक उहाँको संकल्पमा गत वर्ष मात्र चतरामा सम्पन्न “श्रीराम तारकब्रह्म महायज्ञ” का अवसरमा भारतबाट आउनु भएका सबै सम्प्रदायका मण्डलेश्वर, महामण्डलेश्वर, शङ्कराचार्य, आनी, अखडा आदिका प्रतिनिधि समेतको ऐक्य निर्णयबाट उहाँ जगद्गुरुमा प्रतिष्ठित हुनु भयो भने सोही ऐक्य निर्णयले उक्त यज्ञस्थललाई विश्वको एक मात्र “तारकब्रह्म पीठ” भनी घोषणा गरिनुले अध्यात्म जगत्मा उहाँबाट एउटा ऐतिहासिक कीर्तिमान स्थापित हुन पुुगेको पाइन्छ ।

मुलुक भित्र रहेका सयौ महनीय तीर्थस्थलको जागरणका लागि उहाँले शुरु गर्नुभएको “वृहद् तीर्थ जागरण अभियान” ले नेपाललाई वैदिक धर्म÷दर्शनको उद्गम थलोको रुपमा पुनस्थापित गराउने विश्वास गर्न सकिन्छ ।

व्यक्तिमा “परिवर्तन” भन्दा “रुपान्तरण” को आवश्यकता देख्नुहुने उहाँको विशिष्टतालाई बुझेरै होला गत नोभेम्बरमा चिनको हाइन्यान् प्रान्तमा सरकार समेतको सहभागितामा भएको अन्तरराष्ट्रिय योग सम्मेलनमा उहाँलाई दिइएको प्रमुख अतिथिको सम्मान र झण्डै दुई घण्टाको टेलिभिजन अन्तवार्ताले सिद्धबाबा र महायोगलाई मात्र प्रचार गरेन, त्यसले त नेपालको राष्ट्रिय पहिचानमा एउटा आयाम थप भएको अनुभूति गर्न सकिन्छ ।

सिद्ध परम्पराको अक्षुण्णताको लागि सिद्धबाबाबाट सन्यास दीक्षा ग्रहण गरी आश्रममा स्थायी रुपले रहेका विरक्त साधु÷साध्वीहरुका साथै गृहस्थ साधकहरुको समेत उल्लेख्य संख्या र मनोयोगपूर्ण गतिविधि वर्तमानको भोगवादी संस्कृतिलाई एउटा गतिलो पाठशाला हुँदै गइरहेको देखिन्छ ।

नेपाल, भारत, क्यानडा, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका आदि देशका विभिन्न स्थानमा नियमितरुपमा सञ्चालन भइरहेको महायोग साधना र जर्मनी, बेल्जियम, फ्रान्स आदि देशमा पनि यसको विजारोपण हुनुले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको एउटा मौलिक प्रतिष्ठा विस्तारित हुँदै गएको पाइन्छ ।

विभिन्न उमेर, समूह, लिङ्ग, जाती र प्रदेशमा साधक साधिकाहरु दशौ वर्ष देखि उहाँको अभियानका अभियन्ता बानिरहेका भेटिन्छन् । यति लामो समय सम्म उहाँको सन्निधिमा रहेका शिष्य, शिष्याहरुबाट उहाँको चरित्र प्रतिकूल वा संदिग्ध आचरणका विषयलाई लिएर आजसम्म कहीँ, कतै, कुनै किसिमको सुस्केरा सम्म पनि निस्किएको पाइएको÷सुनिएको छैन ।

“मृत्यु भन्दा कठिन” मानिने सन्यास पथका विरक्त साधु सिद्धबाबा राष्ट्रप्रेम सहित लोककल्याणमा अहर्निश खटिइरहेका भेटिन्छन् । वर्तमानमा उनी समाधि सिद्ध एउटा दूलर्भ महापुरुष हुन् । अतः हामी नेपालीकालागि त उनी एउटा दिव्य चेतन सगरमाथा नै हुन् ।

यस्ता एकमात्र नेपाली सिद्ध पुरुष माथि हाल लगाइएको मिथ्या आरोप र त्यसको मलजलमा टुप्पी कसेर खटिएका संस्था/व्यक्तिलाई सहानुभूतिको सोच राख्न पनि हिच्किचाउनु पर्ने अवस्था देखिन्छ ।

यसका साथै केही यस्ता जिज्ञासा वा प्रश्नहरु पनि छन् जसको समाधान सम्बन्धित क्षेत्रबाट तत्काल अपेक्षा गर्नु असान्दर्भिक हुनेछैन–
१. विगत १८–२० वर्ष भित्र मुलुकमा भएका भनिएका परिवर्तनको श्रृङ्खलामा यस्ता कोटिका महापुरुषहरुको उपस्थिति चुनौतीपूर्ण हुने टड्कारो वास्तविकतालाई निस्तेज गर्ने अभियान नै संचालन गरिएको पो हो कि भन्ने दिशा तर्फ शङ्काका औँला उठाउने कि नउठाउने ?

२. समाज सञ्चालनको अग्रपंतिमा रहेकाहरुले हाम्रो आफ्नो “स्व” को रक्षार्थ सजग रहने कि “अन्धेनैव नियमाना यथान्धा” अर्थात् अन्धाले अन्धालाई डोर्याए झैँ डोरिइरहने ?

३. मुलुक भित्र रहेका धार्मिक संघसंस्थाहरु, सन्त/ज्ञानी पुरुषहरु सबै सबै नै यो विषम घडीमा धर्म वृक्षको रक्षार्थ सार्वजनिक हुने वा “खुच्चिङ्ग शैली” मा कोखी पड्काएर बस्ने ?

४. न्यायिक निरुपणमा रहेको विषयलाई आपत्तिजनक नारा र शैलीमा सडकमा खेताला हाल्ने जमिन्दारहरुलाई सम्बन्धित क्षेत्राधिकारीहरुले प्रश्न गर्ने कि नगर्ने ?

५. महिला हक अधिकारका नाममा स्थापित ऐन कानूनले अब कुनै पनि महिलाका आफन्त पुरुषहरु असुरक्षित भएको वास्तविकता तर्फ आधा आकाशका अधिकारवादीले सोच्ने कि नसोच्ने ?

किमधिकम् !

सम्बन्धित शिर्षकहरु