

मानवीय व्यवहार (आदमीपन)
कुकुरहरूको त्यो अदालतमा एक कुकुरमाथि सुनुवाई हुँदै थियो। उसमाथि यो आरोप थियो कि उसले आफ्नै मालिकलाई टोकेको थियो।
न्यायाधिश महोदयको प्रश्नमा उसले आफ्नै मालिकलाई टोक्न पर्नुको कारण बताउन थाल्यो – “श्रीमान् मैले टेलिभिजनको समाचारमा देखेँ कि ⷣताईवान, सिंगापुर जस्ता केही देशहरूमा मानिसहरू कुकुरको मासु बडो आनन्दले खाने गर्छन्। यो देखेपछि मेरो दिमाग खराब भयो, अनि बिरोध प्रदर्शन गर्नाका लागि आफ्नै मालिकलाई टोकिदिएँ श्रीमान्।”
“तैँले बिरोध प्रदर्शन गर्ने नाममा बदला लिने कार्यवाही गरिस्। अनि यसरी तैँले मानवीय व्यवहार प्रदर्शन गरिस्, जुन अपराध अक्षम्य छ त्यसैले…”
“…माफ गर्नुहोला श्रीमान् मानवीय गुण त म होइन हजुरले देखाईरहनु भएको छ। जो यस्तो सब भैसक्दा पनि मलाई विश्वसनीयताको पाठ पढाउँदै हुनुहुन्छ।” कुकुरले न्यायाधीश महोदय बोल्दा बोल्दै बीचमै रोकेर आफ्नो कुरा राख्यो।
“चुप लाग! न्यायालयको अवहेलना गर्न पाइँदैन। अब मेरो निसाफ सुन्! – “तैँले आफ्नै मालिकलाई सम्पूर्ण कुकुर जातिलाई बदनाम गरिस, अनि साथै न्यायालयको पनि अवहेलना गरिस्, त्यसैले अब तँलाई मृत्युदण्डको सजाय दिइनेछ।” न्यायाधिश महोदयले आफ्नो फैसला सुनाउँदै भन्नुभयो।








