
सुख पुराण
न भएर सुख
न नभएर सुख
न तल पारेर सुख
न त टाउकोमा चढाएर सुख !
क्रेडिट कार्डको बिल जस्तो
घोट्दा चाल नपाइने
बिल आउँदा तिर्दिन भन्न नपाइने
ब्याजको स्याज जोडिए जस्तो
खोइ ॠण पनि कस्तो हो कस्तो !
न तिरेर चुक्ता हुने
न बाँचुन्जेल मुक्त हुने
गलाको पासो
ससुरालीको नासो
गर्नु को सँग गुनासो
मरे पछि मात्र
छुटकारा पाइने पासो
चुप्प लागेर बस्नु पर्ने
बोले हुन्छ बोली फासो !
हाँसिदिँदा पनि टेन्सन
रोइदिँदा पनि टेन्सन
ससुरालीमा कुकुर बिरामी पर्दा
हुन्छ झन् टेन्सन
घर तिरको कुरा गर्नुस्
सुरु हुन्छ पार्किन्सन !
आफ्ना सबै भुलेर
उनको बनिदिनु पर्ने
जस्ता भए पनि उनीहरू
“वाह मेरा ससुराली” भनिदिनु पर्ने
कुरा गर्यो कुराकै दुःख
बरु भारी बोक्ने गधाले पाएको होला सुख
यति हुँदा पनि भन्छन्
अझै लोग्ने हुन्छस् ??
भो बाबु भो न रो कति रुन्छस्
बा आमा र दाइ थुम्थुम्याउँछन !
सङ्गी साथी धाप मार्दै भन्छन्
“भो न रो यार न रो”
बरु ढुङ्गो रसाउला
उनीहरू रसाउँदैनन्
ए सुन त,
अलिकति लगा
मनको पिर भगा
नाचौँ सबै गीत लगा
” माया बैगुनी,
नभै नहुनी !”
बादल मडारिएको छ
आकाश दुम्म छ
आँधी आउला जस्तो छ
हुरी चल्ला जस्तो छ !
तै पनि रुन्चेहरु
“माया बैगुनी, नभै नहुनी” गीतमा
दारुको तालमा नाच्दैछन !
एकले अर्कालाई हेर्दै,
कम्मर भाँच्दैछन !!
– रामप्रसाद खनाल, हाल भर्जिनिया अमेरिका,
अप्रिल ८, २०२०








