अस्पताल बेडबाटै गायब भएकी सुत्केरी ललितादेवी दुई दिनपछि भेटिइन्

वीरगंज । वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट बेपत्ता भएकी भनिएकी सुत्केरी जिल्ला अस्पताल बारामा फेला परेकी छन्। पर्सा प्रहरीले बारा प्रहरीको सहयोगमा उनलाई बाराको कलैयास्थित जिल्ला अस्पतालमा फेला पारेको हो ।पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बेपत्ता भएकी ललितादेवी जिल्ला अस्पताल बारामा फेला परेकी र उनलाई आफन्तको जिम्मा लगाएको जानकारी दिए। मेडिकल कलेजले भने उनी आफैं भागेकी हुन् कि पतिले भगाएका भन्ने बारेमा बुझ्ने काम भइरहेको जनाएको छ।

सर्लाही, कविलास नगरपालिका वडा नम्बर २ पिपरियाका कृष्णदेव नन्दन मण्डलकी पत्नी ललिता देवी बुधवार राति ११ बजेदेखि बेपत्ता भएकी थिइन्। पर्सा प्रहरीमा वेपत्ता सुत्केरीका पति मण्डलले उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।ललिता पुस २ गते बिहान ८ बजे प्रसुतीको लागि मेडिकल कलेजमा भर्ना भएकी थिइन्। ललिताले नर्मल डिलिभरीबाट बच्चा जन्माउन नसकेपछि चिकित्सकले सिजेरियन अप्रेशन गरी पेटबाट बच्चा निकालेका थिए।

छोरी जन्माएकी ललिता पोस्ट अप्रेशन वार्डमा थिइन्। बच्चा एक दिन सघन उपचार कक्षमा राखियो। तर बुधबार बच्चालाई एनआईसियुबाट निकालेर आमासँगै जनरल वार्डमा सारिएको थियो। बुधबार राति ८ बजे बच्चालाई ललिताले दुध पनि खुवाइन्। तर ११ बजे बच्चालाई पुनः दुध खुवाउन खोज्दा ललिता बेडमा नरहेको ललिताकी सासु तेतरी देवीले बताइन्।

पोस्ट अप्रेशन कक्षमा बिरामी र बच्चा मात्रै थिए। कुरुवाहरु बाहिर कुरिरहेको अवस्थमा राति ललिता गायब भएपछि उनी बेपत्ता भएको खबर परिवारसहित अस्पताल प्रशासन समक्ष पुगेको थियो।

सम्बन्धित शिर्षकहरु