माघ । स्टेजमा यम बुद्ध नामले चर्चित नेपालका ऱ्यापर अनिल अधिकारी लन्डनमा झुण्डिएर आत्महत्या गरेपछि देश विदेशबाट उनका शुभचिन्तकहरुले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् । उनका लाखौं युवा फ्यानको श्रद्धाञ्जलिले सामाजिक सञ्जाल अहिले भरिभराउ छ ।
उनी शनिबार बिहान घरको बाथरुममा घांटीमा बेल्टले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको पारिवारिक श्रोतले उल्लेख गरेको छ । लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड, रइसलिपमा ससुराली घरमा बस्दै आएका ३० वर्षीय यम शुक्रबार रोयल मेल (हुलाक सेवा कम्पनी) को काम सकेर घर फर्किएका थिए । पारिवारिक श्रोतका अनुसार, घर आएर खाना खाइ करिब १२ बजे श्रीमति अस्मिता सेढाईंसँगै सुतेका उनी साढे तीन बजे बाथरुम छिरेका थिए । बिहान ६ बजेतिर त्यही घर बस्ने एक जना बाथरुम जान खोज्दा ढोका लक भइरहेको पाएपछि किचनमा अर्को चाबीले ढोका खोल्दा उनी झुण्डिरहेको अवस्थामा भेटिएका थिए । टावल झुण्ड्याउने डन्डी बलियो र अलिक हाइटमा भएकाले बेल्टले घाँटीमा पासो लगाउन सजिलो भएको परिवारको बुझाइ छ । त्यतिखेर उनको आइफोन सेभेन मोबाइल खल्तीमै थियो । ‘काम सकेर घर खाना खाइ नर्मल सुतेको मान्छे एक्कासी त्यो अवस्थामा पाउंदा हामी आश्चर्यचकित भयौं,’ एक आफन्तजनले भने, ‘यमको लोकप्रियता सन् २०१२ तिर खुबै चुलिएको थियो । बेलायत आएपछि विगत जस्तो प्रगति नभएको र बढ्दो तनावले पनि उनमा एकखालको वितृष्णा भएको हुनसक्छ ।’
सन् २००९ मा विद्यार्थी भिजामा लन्डन आएर सन् २०११ मा नेपाल फर्किएका उनी बिहेपछि २०१४ मा स्पाउज भिजामा यूके आएका थिए । ब्रिटिश पासपोर्ट होल्डर श्रीमती अस्मिताको स्पाउज भिजामा थिए उनी ।








