२९ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दोश्रो चरणको स्थानीय तहको निर्वाचन आगामी असार १४ गते नै हुने बताउनुभएको छ ।
एमाले कोहलपुर नगर कमिटीले आयोजना गरेको कोहलपुर नगरपालिकाका उम्मेदवारको नामावली घोषणासभालाई सम्बोधन गर्दै ओलीले असार १४ मा नै स्थानीय तहको चुनाव हुने भएकाले पार्टीका नेता तथा कार्यकर्तालाई घरदैलो र प्रचारप्रसारमा लाग्न निर्देशन दिनुभएको छ । दोस्रो चरणअन्तर्गत असार १४ गते निर्धारण गरिएको स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले अब रोक्न नसक्ने उहाँको दावी छ ।
सरकारमा जानका लागि राष्ट्रिय हितमा असर पुग्ने कुनै पनि काम एमालेले नगर्ने स्पष्ट पार्दै उहाँले नेपालको स्वतन्त्रता, अखण्डता, सार्वभौमसत्ता, स्वाधिनता र राष्ट्रियताको विषयलाई सधै गौरबको एजेण्डा बनाउने बताउनुभयो ।
उहाँले स्वतन्त्र र शान्तिपूर्ण निवार्चन गराउने पक्षमा भुमिका खेल्न प्रहरी प्रशासनलाई आग्रह गर्दै धाँधली गर्ने, मतपत्र च्यात्ने, जनमतलाई धुजाधुजा पार्ने कार्यको सबैले विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
यस कार्यक्रममा एमालेबाट कोहलपुर नगरपालिकाका प्रमुख पदमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णाकुमारी चौधरीसहित १५ वटै वडाका वडाध्यक्षका उम्मेदवारको नामावली घोषणा गरिएको थियो ।








