यस्ता छन् आँखादान गर्ने प्रक्रिया

संवाददाता काठमाडौं ।
नेपालमा आँखादान गर्नेको भन्दा आँखा प्रत्यारोपण गर्नेको संख्या बढ्दो छ । तसर्थ कहिलेकाहिँ नेपाल आँखा बैंकमा आँखाको अभाव समेत हुने गरेको छ । तिलगंगा आँखा अस्पतालमा मात्रै आँखा लिनेको प्रतिक्षामा ७५ जना छन् । तिलगंगा आँखा अस्पतालका आँखा बैंक मेनेजर शंकर नारायण तोयनाले भने ‘आँखा अभावका कारण दुई वर्षदेखि आँखाका लागि पर्खिने पनि छन् ।’ आँखाको नानी फेर्नेको कुनै तथ्यांक नहुने तोयनाले बताए । अाँखाको बाहिरी भागमा असर पर्दा आँखा फेर्न सकिन्छ ।
तिलगंगामा सन् २०१६ मा जम्मा ७११ जनाले मात्र आँखादान गरेका छन् । यस वर्ष भने (सन् २०१७) हालसम्म आँखादान गर्नेको संख्या २४५ रहेको छ । शवदाह गृहमा भने आँखादान गर्नेको संख्या स्थापनाकालदेखि हालसम्म दुई सयभन्दा बढी रहेको छ ।
आँखादान गर्ने प्रक्रिया
आँखादान गर्नका लागि इच्छा भएकाले सुरुमा शवदाह गृहमा आखाँदान इच्छापत्र भर्नुपर्नेछ । इच्छापत्र भरेर मृत्यू भएकाहरुको आँखादानको बारेमा मृतकका परिवारले शवदाह गृहमा खबर गर्छन् । त्यसपछि तिलगंगामा लगेर मृतकको आँखा निकालिन्छ । आँखादान गर्नका लागि पहिला आँखा स्वस्थ छ वा छैन भन्ने परीक्षण गरिन्छ । क्यान्सर, एचआइभी, क्षयरोग र हेपाटाइटिस रोग लागेर मृत्यू भएका र आँखा खराब भएका मृतकहरुको आँखा प्रत्यारोपण गरिदैंन । कतिपय मानिसहरुले जीवित छदैं आँखादानका लागि इच्छापत्र भर्छन् भने कतिपय मानिसहरुको मृत्यूपछि मृतकको परिवारलाई परामर्श गरेर आँखादान गर्न लगाइन्छ । मृतकका परिवारलाई परामर्श दिने काम पशुपति शवदाह गृहकी परामर्शदाता रामप्यारी कार्कीले गर्छिन् । ‘आँखादानको इच्छापत्र नभरेको मृतकका परिवारलाई हामीले परामर्श दिएर मृतकको आँखादान गर्न राजी गराउँछौ ।’ रामप्यारी कार्कीले भनिन्, ‘त्यसका लागि इच्छापत्रमा परिवारले राजी गरेको तीनजनाको हस्ताक्षर चाहिन्छ, त्यसका लागि मृतकको नजिकको नातेदारको मञ्जुरी नामा चाहिन्छ ।’ त्यस्तै वीर अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालबाट मृतकका परिवारलाई परामर्श गरेर दान दिन लायकका आँखाहरु भएका मृतकको परिवारबाट स्वीकृति लिएर आँखा निकालिन्छ । आँखा निकाल्नका लागि मृतकको आँखा गर्मीमा ५ घण्टाभित्र र जाडोमा १२ देखि १३ घण्टासम्म निकाल्न सकिन्छ । मृतकको आँखालाई घामबाट जोगाउनुपर्छ र आँखा बन्द हुनुपर्छ । खुल्ला आँखादान गर्नका निम्ति छिटो गर्नुपर्नेछ ।
अधिकांश मानिसहरुको आँखादानको बारेमा गलत बुझाइ छ । मानिसको मृत्यूपश्चात् गरिने आँखादानमा पूरै आँखा नभई आँखाका नानीमात्रै दान गरिने हो । आँखादान गर्नका लागि २ वर्षदेखि ७० वर्षसम्म उमेर समूहका मानिसहरु योग्य रहन्छन् ।

सम्बन्धित शिर्षकहरु