एजेन्सी । विमान बंगलादेश एयरलाइन्सको एउटा विमान अपहरण गर्न खोज्न एक युवक सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन्। बंगलादेशको राजधानी ढाकाबाट दुबई जाँदै गरेको बीजी १४७ फ्लाइट नम्बरको विमान अपहरण गर्न खोज्न युवक मारिएका हुन्। १४८ जना यात्रुसहित उडेको विमानमा एक जनाले ककपिटमा पुगेर पेस्तोल देखाउँदै नियन्त्रणमा लिन खोजेका थिए। ती व्यक्तिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग कुरा गर्न पाउनुपर्ने माग गरेका थिए।
विमानचालकले चलाखीपूर्ण रूपले प्रधानमन्त्रीसँग कुरा गराइदिने आश्वासन दिएर चटगाउँस्थित शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएर आपतकालीन अवतरण गराए। त्यसपछि सबै यात्रुलाई सकुशलतापूर्वक बाहिर निकालिएको थियो। विमानभित्रै रहेका अपहरणकारीलाई आत्मसमर्पण गर्न भनिएकोमा नमानेपछि उनलाई गोली प्रहार गरिएको बंगलादेशका अधिकारीहरुले जनाएका छन्। २५ वर्षीय युवकले किन विमान अपहरणको प्रयास गरे भन्ने चाहिँ स्पष्ट भएको छैन।








