चुलाचुली जाने द्रुतमार्ग निर्माण गरिन्छ – नेता नेम्वाङ

इलाम । नेकपा एमाले का नेता तथा सांसद सुवास नेम्वाङले इलामको सोयाक हुँदै चुलाचुली जानका लागि द्रुतमार्ग निर्माण गरिने बताएका छन् । माई नगरपालिका–७ कपरसुक्कामा शनिबार आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले विकासको दृष्टिकोणले पछाडि परेको यहाँ इलामको सोयाक–महमाई हुँदै चुलाचुली पुग्ने द्रुतमार्ग निर्माण आफ्नो पहिलो एजेण्डा हुने बताए ।

महमाई र दानाबारीबीचमा पर्ने माईखोलामा पर्ने चण्डालघाटमा निर्माणाधीन पुल छिटो सम्पन्न गर्न उनले आग्रहसमेत गरे। ‘यो पुल बनेपछि महमाईको कायापलट हुनेछ, महमाई शहर केन्द्रित हुन्छ’, उनले भने, ‘यहाँबाट महमाई, बाँझो, सोयाक, जितपुर आउजाउ गर्न सहज हुनेछ ।’

महमाई क्षेत्रको अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या समाधान गर्न पहल र प्रयत्न गर्ने बताउँदै उनले वाम गठबन्धनको सरकार गठन भएपछि विकास र समृद्धितर्फ मुलुक अघि बढ्ने विचार व्यक्त गरे । उनले अब मुलुकलाई आर्थिक समृद्धि र विकासको पथतिर लैजाने बताउँदै पाँच वर्षभित्रमा जनताले अनुभूत गर्नेखालका ठोस योजना लागू गरिने बताए ।

कार्यक्रममा प्रदेशसभा सांसद धीरेन्द्र शर्माले जिल्लाको दक्षिणी क्षेत्र विकासमा पछि परेकाले अब आफ्नो पहिलो काम विकास नै हुने बताए। अर्का प्रदेश सांसद राम रानाले बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न र विदेश पलायन रोक्नका लागि दक्ष जनशक्ति तयार गर्न प्राविधिक शिक्षालय स्थापना गरिने तथा कलकारखानाको स्थापना गरी स्वदेशमै रोजगारीको ग्यारेन्टी गरिने बताए । रासस ।

सम्बन्धित शिर्षकहरु