कविता :फेरि होली मनाउने दिन कहिले आउला

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

 

 

 

 

 

 

 

 

 

 

शिर्षक : फेरि होली मनाउने दिन कहिले आउला

उता देश रोईरहेको छ
देशले रगतको होली खेलिरहँदा
लाग्दैछ अचेल
यी होलीका रंग
फिक्का बनेका छन
कठोर बनेका छन

नृदयी बनेका छन
ती रंगहरु निधारमा बस्नै
रुचाउंदैनन
ती रगंहरुले
होली कहिल्यै नआए हुन्थ्यौ भन्छन
होली रंग सँगै रिसाएको छ
होलीले रंग मन पराउंदैन र
रंगले होली।

मलाई अझै सम्झना छ
मेरा दौंतरीहरु
दुनारे हरि,पारी भञ्याङ्गको विर बहादुर,
घरै माथिको विजय सँगै

रंग पोत्ने खेल खेल्दा
लाग्थ्यौ
होली सँधैभरि आईदिए हुन्थ्यौ
र हरेक दिन
रंग पोत्दै रमाउन पाए हुन्थ्यौ
त्यही पाखा र भञ्याङ्गमा
मेरै दौंतरी सँग।

मेरै घरबाट देखिने
पारी भञ्याङ्गका ती
सबै घरहरु जब रङ्गले पोतिन्थे
खुशि देखिन्थे
ती घरहरुको पनि निधार भएरै होला
रंगिएका र खुशि भएका

अचेल ती पारी भञ्याङ्गका
घरहरु रंगिन भएका होलान
या नहोलान
खुशि होलान कि नहोलान
रंग पोत्लान की नपोत्लान
यस्तै यस्तै सोध्न मन छ
त्यहि पाखाहरु सँग।


दुनारे हरि,
पारि भञ्याङ्गको विर बहादुर,
रंग पोत्दै विजय उत्सव मनाउने
घरै माथिका ती
विजयहरु
मेरै पाखामा कतै भेटिंदैनन्

रंग पोत्दै रमाउने
ती दौतरीहरु
अचेल रंग मन पराउंदैनन्
जब छिमेकीले
घर भत्काउन खोज्छ
पर्खाल सार्न खोज्छ
त्यहि भएर
विर बहादुर र विजयले
वर्षौं भयो
रंग नलगाएको
र होली नमनाएको।

दुनारे हरि,पारी भञ्याङ्गको
विर बहादुर,
घरै माथिको विजय सँगै
रमाउँदै होली खेल्ने दिन
फेरि कहिले आउला
यस्तै यस्तै सोध्न मन छ
त्यहि पाखाहरु सँग।

सम्बन्धित शिर्षकहरु