च्याम्पियन्स लिग : पिएसजीसँग बार्सिलोनाको लजास्पद हार

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४ – ० को लज्जास्पद हार बेहोरेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोनामाथी फराकिलो जित दिलाउन पिएसजीका एन्जल डी मारियाले दुई तथा जुलियन ड्रेक्सलर र कप्तान एडिसन काभानीले एक एक गोल गरे । जितसँगै पिएसजीले च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउने सम्भावना प्रवल बनाएको छ । दुई टोलीबीच आगामी मार्च ८ मा दोस्रो लेग हुनेछ । दोस्रोलेग बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुने छ ।

पहिलो लेगमा फराकिलो हार बेहोरेपछि बार्सिलोना पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा नपुगी प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ । बार्सिलोनालाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाउन दोस्रो लेगमा फराकिलो जित आवश्यक भएको छ । तर, च्याम्पियन्स लिगको इतिहासमा पहिलो लेगमा ४ गोलले पछि परेको टोलीले दोस्रो लेगमा नतिजा उल्टाएको अहिलेसम्म रेकर्ड छैन ।

पेरिसस्थित पार्क डी प्रिन्सेस स्टेडियममा पिएसजीले खेलको १८ औं मिनेटमा डि मारियाको फ्रिकिक गोलबाट अग्रता लिएको थियो । स्टार खेलाडीहरु कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र नेयमारसहित टिम बार्सिलोनाविरुद्ध पिएसजीले खेलको ४० औं मिनेटमा ड्रेक्सलरको गोलबाट अग्रता दोब्बर बनायो ।
पहिलो हाफमा २–० ले अग्रता बनाएको घरेलु टोलि पिएसजीले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

दोस्रो हाफको ५५ औं मिनेटमा डि मारियाले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले पछि पर्यो । खेलको ७१ औं मिनेटमा कप्तान काभानीले गोल गर्दै पिएसजीको अग्रता थप फराकिलो बनायो । त्यसपछि बार्सिलोना खेलमा फर्कन सकेन र पिएसजीले ४–० को फराकिलो जित निकाल्न सफल भयो ।

योसँगै पिएसजी च्याम्पियन्स लिगमा बार्सिलोनामाथि ४ गोल गर्ने छैटौ टोलि बन्न सफल भयो । यसअघि च्याम्पियन्स लिगमा बार्सिलोनालाई चेल्सी, वायर्न म्युनिख, एसी मिलान, भ्यालेन्सिया र डाइनामो किभले चार गोल गर्न सफल भएका थिए ।

सम्बन्धित शिर्षकहरु