मलाई खोजिरहेछु म आज
आफूभित्रै,
छिचोलिरहेछु चिन्तनका पहाडहरु
उक्लिएर एक्लो टाकुरामा,
स्वभिमानको झन्डा गाडेको छु,
हिमालका शिखरहरुमा पनि
स्वभिमानको झन्डा फहराएकै छु,
हेरन मेरो शान
तराईको फाँटमा पनि त
नितान्त आफ्नै स्वाभिमान बाँचेको छु।
बैरी पासा फाल्दै छन् रे
बनाएर सतरन्जको गोटी मलाई
नेपालीको शिर ढाल्दै छन् रे
प्यादा बनेर स्वयम् नेपालीले नै !
बिचित्र कोखमा फल्दै छन् आतातायीहरु
पहिचानको नाममा
मौलिक हक जल्दैछन् आज
पुर्खाको रगत र बलिदानलाई धरौटी राखेर
गरे हुन्छ समर्पण अस्तित्व
कसैको अधिकार मजबुत हुने भए
दास बने हुन्छ सशरीर
तर
धिक्कार छ जसले चाह्यो यै माटोमा घात र गद्दारी,
सात जन्मको आयु मरे हुन्छ,
एकतामा त्यस्ता कपुत निसन्तान परे हुन्छ,
के उम्रिन्छ र यो उर्बरा भूमिमा,
बीजको साटो रोपिन्छ घृणाको परमाणु,
पाइला पाइलामा हुन्छन् बिस्फोट बमहरु
तसर्थ
सुस्त सुस्त कदम चाल्न खोज
आफुलाइ नेपालीपनमा ढाल्न खोज
दोभासे बन्न सक्ने भए बन,
आफ्नैपनमा रम्न खोज्ने भए रम,
छौ बाध्यतामा परदेशमै भने पनि
एकजुट भै जम्न खोज
म त आफूलाई आज भोलि
आफुभित्र खोजीरहेछु।
सकेसम्म मीठो राष्ट्र भाषा नेपाली बोलिरहेछु,
अग्रगामी देशको अमर गाथा गाइरहेछु,
बोकी हिंड्छु मुटुको खर्पनमा
देशको माया
जोगाई हिंड्छु चेतनामा सधैं
पहिचान नै मेरो नेपाली हो !!!!!!!!
उमा कार्की, नारायणगढ, चितवन !!!!!!








