भदौ १५ । काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले पूर्व राजा वीरेन्द्र तथा उहाको परिवारका नाममा अज्ञात रहेको सम्पत्ति जसरी भएपनि खोजेर नेपाल ट्रष्टको मातहतमा ल्याउनु पर्ने बताउनु भएको छ ।
नेपाल ट्रष्टको बाषिर्क प्रतिवेदन ग्रहण बुझ्दै आज कोइरालाले सुराकीहरु लगाएर भएपनि स्व. राजा वीरेन्द्र, स्व.रानी ऐश्वर्य, स्व. राजा दीपेन्द्र र स्व.युवराज निराजनको नाममा रहेको सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याउनु पर्ने बताउनु भएको हो ।
कोइरालाले ट्रष्टको स्वामित्वमा आएको सम्पत्ति पनि सदुपयोग गर्ने कार्ययोजना आवश्यक भएको बताउदै ट्रष्टको सम्पत्ति जनताको शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा लगाउनु पर्ने धारणा राख्नु भयो ।
प्रधानमन्त्री कोइरालाले अब नेपालको विकासमा ब्रेक थ्रु हुने र संविधान जसरी पनि आउने जानकारी दिनु भयो ।
निजी क्षेत्र र जनसहभागितामा पनि विकासका प्रयास थालिएको भन्दै ८-१० बर्षमा देशको विकासमा कायापलट हुने उहाको भनाई थियो ।
यसैबीच नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्रधानमन्त्री समक्ष आर्थिक बर्ष २०६९/७० को प्रतिवेदन बुझाउनु भयो ।








