जेठ ३१,टेक्सास। अमेरिकाको टेक्सासस्थीत एक नेपाली भाषी भुटानी हरि अधिकारीले आत्महत्या गरेका छन्। बिहान काममा जाने भन्दै हिँडेका उनी स्टोरमा नपुगेपछि सोधखोज गर्दा घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
केही समय अघि उनलाई कालो बर्णका अमेरिकनले लुटेको र पछिसम्म पटकपटक पैसा लिएर धम्की दिइरहेएकोेले मानसिक तनावमा रहेको हुन सक्ने उनका सहकर्मीहरुले व्यक्त गरेका छन् । आत्महत्यासँगै भेटिएको सुसाईड नोट र डायरीले पनि उनी तनावमा रहेको पुष्टि गरेको छ ।
आइतबार राति आफ्ना साथीभाइसँग सदाझैँ सामान्य गफ गरेर सुत्न गएका अधिकारी बिहान साँढे सात बजे आफ्नै घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनी टेक्सासको वार्डफोर्डमा रहेको कन्भिनियन्स स्टोरमा काम गर्थे । बिहान सात बजे काममा जानुपर्नेमा उनको मोटर बाहिरै देखिएपछि सोधीखोज गर्दा पत्नीले कम्पाउन्डसँगै जोडिएको रुखमा झुण्डिएको अवस्थामा देखेर तत्काल प्रहरीलाई खबर गरेकी थिइन्।
४३ वर्षीय अधिकारीले नेपालमा शरणार्थीको रुपमा २२ वर्ष बिताएका थिए। उनी सन् २००९ मा शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका थिए। मृतक अधिकारीका पत्नी, १६ वर्षीय एक छोरा र ९ वर्षीया एक छोरी छन् । मृतकको शव अहिले पोष्टमार्टमका लागी हस्पिटलमा राखिएको छ।








