तनहुँका दश स्थानीय तहको बजेट सार्वजनिक

दमौली । तनहुँ जिल्लामा स्थानीय तहहरुले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

चार नगरपालिका र छ गाउँपालिकाले सार्वजनिक गरेको उक्त्त अनुमानित बजेटमा कृषि, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा दिएका छन ।

व्यास नगरपालिकाले एक अर्ब ५२ करोड ९७ लाख ५१ हजार, शुक्लागण्डकी नगरपालिकाले एक अर्ब सात करोड सात लाख ३७ हजार, भानु नगरपालिकाले ७८ करोड ९१ लाख १२ हजार, भिमाद नगरपालिकाले ५६ करोड ५३ लाख सात हजार रुपैयाँको बजेट ल्याएका छन् ।

त्यस्तै ऋषिङ गाउँपालिकाले ५९ करोड ९७ लाख २० हजार दुई सय ४०, बन्दीपुर गाउँपालिकाले ५८ करोड ३२ लाख ७१ हजार, आँबुखैरेनी गाउँपालिकाले ५७ करोड ३९ लाख सात हजार, म्याग्दे गाउँपालिकाले ४७ करोड ४२ लाख २४ हजार, देवघाट गाउँपालिकाले ४० करोड ७५ लाख ५८ हजार र घिरिङ गाउँपालिकाले ३३ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

शुक्लागण्डकी नगरपालिकाले उपयोग विहिन जमिनलाई उत्पादनमूलक बनाउने नीति लिएर कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कार्यक्रम ल्याइएको उपप्रमुख सविता रसाइलीले जानकारी दिइन् ।

विगतका वर्षमा निर्धारण गरिएको कृषि उपज पकेट क्षेत्र र एक वडा : एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिई थप पकेट क्षेत्रको पहिचान गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरक्षेत्रभित्र बाँझो रहेका जग्गाको पहिचान गरी कृषकलाई त्यस्ता जग्गामा खेती गर्न प्रोत्साहित गरिने र पर्याप्त बजेटको व्यवस्था गरिने उनले जानकारी दिइन् ।

सम्बन्धित शिर्षकहरु