एजेन्सी- युरोपियन युनियन (ईयू)ले रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने प्रस्ताव गरेको छ । यूरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसबाट युरोपमा हुने क्षति न्यूनीकरणका लागि रुसी खनिज तेल पूर्णरूपमा निषेध गर्ने र युद्ध अपराधका संदिग्धलाई प्रतिबन्ध लगाउने सहितका कडा कदम चाल्ने प्रस्ताव गरेको बीबीसीले जनाएको छ । तर, यो पस्ताव यूरोपेली संघका सदस्य राष्ट्रहरूबीच सहमति भएपछि मात्र लागू हुनेछ ।
रुस र युक्रेनबीच युद्ध चर्किएपछि यूरोपियन देशले रुसमाथि प्रतिबन्ध लगाएका हुन् । यूरोपका अधिकांश देशले रुसको इन्धन चलाउँदै आएका थिए । युक्रेनमाथि दमन गरेको भन्दै यूरोपियन राष्ट्र रुससँग रुष्ट बनेका छन् । रुस र युक्रेनबीच केही महिनायता तनाव जारी छ । छोटो समयमा टुंगिने अनुमान गरिएको तनाव लामो समयसम्म जारी हुँदा यसको प्रभाव विश्व बजारमा देखिन थालेको छ ।
आउँदो ६ महिनाभित्र रुसी कच्चा तेल रोक्ने र चरणबद्ध रूपमा अरू प्रतिबन्धहरू लगाउने उहाँको प्रस्ताव छ । युरोपेली संसदमा सम्बोधन गर्दै अध्यक्ष लेयनले ईयूको कदमले रुसका सबै युद्धअपराधीहरूलाई जवाफदेही बनाउने बताउनुभयो । ईयूले रुसी तेल र ग्यासबाट आफूलाई कसरी छुटकारा दिने भन्नेमा हप्तौँदेखि छलफल गरिरहेको छ । ईयूले सन् २०२२ को अन्त्यसम्ममा रुसबाट ग्यास आयात दुई तिहाइले घटाउने वाचा गरिसकेको छ ।
अहिले रुसी तेलमा निर्भर स्लोभाकिया र हङ्गेरीलाई वैकल्पिक आपूर्तिकर्ता खोज्न थप एक वर्ष दिइनेछ । तर हङ्गेरियन सरकारका प्रवक्ताले रुसी ग्यास विस्थापनको योजना वा ग्यारेन्टीहरू नदेखेको बताउनुभएको बीबीसीले जनाएको छ । ईयूको योजना कार्यान्वयन गर्न सदस्य राष्ट्रको स्वीकृति चाहिन्छ । ईयूले यसअघि रुसी बैंकको कारोबारलगायत अरू थुप्रै प्रतिबन्धहरू लगाइसकेको छ । ईयुले थप कडाइका साथ अन्य थुप्रै प्रतिबन्धहरु लगाएको छ।








