असनेपाल न्यूज संवाददाता, ललितपुर । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिब आङकाजि शेर्पाले सरकारले अल्पसंख्यक धार्मिक समूदायलाई विभेद गरेको प्रति रुष्ट हुँदैै हरेक ख्रीष्टमसको दिनमा सरकारले कन्चुस्याइ नगरी सार्वजनिक विदा दिनुपर्ने सुझाव दिएका छन ।
मिडिया एड्भोकेसी फोरम नेपाल (माफ नेपाल) र नेपाल प्रेस सोसाइटिद्वारा मंगलबार आयोजित ख्रीष्टमसको उपलक्ष्यमा ललितपुरको भैसेपाटी स्थित युनिटी क्याफेमा गरिएको शुभकामना आदानप्रदान तथा प्रेमभोज कार्यक्रममा उनले अल्पसंख्यक धार्मिक समुदायहरु सबै एकजुट भएर आफ्नो हक र अधिकारको लागि लड्नुपर्ने सल्लाह दिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शेर्पाले ख्रीष्टियनहरुको भोट चल्ने तर बाइबललाई अनुसरण गर्न प्रतिबन्ध लगाउने भन्दै उनले ख्रीष्टियनहरुहरुले नेपालको षडयन्त्रकारी राजनीतिप्रति बेखबर हुन नहुने भन्दै सचेत गराए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शान्ताराम बिडारीले आफू ख्रीष्टियन नभएता पनि ख्रीष्टियनहरुको हक र हीतको निम्ति आफूले सँधै आवाज उठाइरहने प्रतिवद्धता जाहेर गरे ।
एनसिएफ नेपालका महासचिब शेर बहादुर केसीले येशू प्रभु सम्पूर्ण मानव जातिको मुक्ति र उद्धारको लागि उपहार स्वरुप यस पृथ्विीमा आएको हुँनाले उत्सव स्वरुप ख्रीष्टमस मनाइने गरिएको बारेमा प्रष्ट पारे ।
कार्यक्रममा वरिष्ठ पत्रकार सविन शर्मा, माफ नेपालका अध्यक्ष विदुर अधिकारी नेपाल प्रेस सोसाइटीका अध्यक्ष केशव लुइटेल, गजल गायक आनन्द कार्की लगायतले ख्रीष्टमसको शुभकामना दिदै बहुसंख्यक हिन्दु धर्मालम्बी सरह ख्रीष्टियन लगायत अल्पसंख्यक धर्मालम्बीलाई पनि राज्यले सेवा सुविधा दिनुपर्नेमा जोड दिए ।
पत्रकार कुमारसिंह बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजवादी पार्टी भक्तपुरका अध्यक्ष श्याम बस्नेत पत्रकार सौगात मिश्र, विभिन्न मण्डलीका ख्रीष्टियन अगुवा पास्टरहरु लगायत अन्य उपस्थित वक्ताहरुले पनि ख्रीष्टमसको शुभकामना आदान प्रदान गरे ।
कार्यक्रममा नेता शेर्पा लगायत अन्य अतिथिहरुलाई कदर पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो







