संस्कृतिविद जोशी १ सय ३ बर्षमा प्रवेश,मानसिक र शारिरिक रुपमा अझै फुर्तिला

जीबनमा कुनै पनि बिशेष रोगको लागि भनेर औषधीमुलो नगरेका संस्कृतिविद सत्यमोहन जोशी  १ सय २ वर्ष पूरा भएका छन । वि.सं. १९७७ बैशाख ३० गते बाबु शंकरदास जोशी र आमा राजकुमारीको कोखबाट ललितपुरको बखुम्बहालमा जन्मिएका हुन । जोशीले १९ वर्षको उमेरमा मङ्गलबजारकी राधादेवीसँग विवाह गरेका थिए। श्रीमती राधादेवी भने ९८ वर्षमा प्रवेश गरेकी छन् ।

भाषा, कला, संस्कृतिको संरक्षण सम्बर्धन र विकासमा समेत योगदान दिएका जोशी दीर्घजीवनका लागि स्वस्थ आहार र निरन्तरको चिन्तन मनन आवश्यक हुने उनको अनुभव छ। उनी भन्छन,”लोभ,मोह इर्श्या जस्ता कुराहरुलाई छोडेर शान्तिमा जिउनु पर्छ त्यही नै सबै भन्दा ठुलो औषधी हो ।”
जोशीले प्रकृतिलाई चुनौति दिएका छन । आहार बिहारविदहरुको भनाई विपरित जोशीको बुढेसकालमा पनि युवा अवस्थाकै खानपिन जारी छ । उनी हिम्मतसाथ भन्छन, “मासु रोस्ट गजबले चपाउन सक्छु ।” स्मरण शक्ति पनि त्यस्तै छ । उनीसँग कुरा गर्दा नअक्मकिकन ईतिहासका कुरा बताउन सक्छन ।
उनले सांस्कृतिक क्षेत्रमा गरेको योगदानको जति चर्चा गरेपनि कम हुन्छ । अझै पनि उनले नेपालको छवि जाज्वल्यमान बनाउन महत्वपूर्ण योगदान गर्दै आईरहेका छन। जोशीले अहिलेसम्म नेपालको साहित्य, संस्कृति लगायत विविध क्षेत्रमा जीवन विताएका छन। उनले त्रिचन्द्र कलेजबाट बि.ए. सम्म अध्ययन गरेका छन् । तीन पटक सम्म मदन पुरस्कार प्राप्त्त गर्न सफल उनी एक मात्र व्यक्ति हुन्। उनले वि.सं २०१३, २०१७ र २०२८ मा मदन पुरस्कार पाएका हुन ।
वाङ्मय शताब्दी पुरूष जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने समेत घोषणा गरिसकेका छन । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि सत्यमोहन र उनकी श्रीमती राधादेवीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाण्डौ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ ।
नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरिसकेको छ । जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

२००९ सालमा उनले तथ्यांक सम्बन्धि प्रशिक्षण लिन न्युजिल्याण्ड जाने अवसर पाएका थिए। न्युजिल्याण्डमा १ वर्ष बस्दा त्यहाँ लायन्स नामक पत्रिकाका वेलिङ्गटन प्रतिनिधिले सत्यमोहन जोशीसंग कुराकानी गरेर विशेष आलेख प्रकाशित गरेका थिए।
जोशीलाइ पुरातत्व विभागका पहिलो निर्देशक बन्ने सौभाग्य पनि प्राप्त भयो। वि. सं. २०१५ मा केवल ३८ वर्षको उमेरमा उनी पुरातत्व विभागको निर्देशक बनेका थिए।
कोरोना महामारी (कोभिड १९ )ले विश्व नै आक्रान्त बनाइरहेका बेला जोशी भने भाग्यवश उत्तिकै स्वस्थ र शक्त्तिशाली छन ।

सम्बन्धित शिर्षकहरु